धरान: २१ औं गोधुली टुबोर्ग रनिङ कपमा गत बर्षको उपविजेता धरानको वडा नं १६  फाइनलमा प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न सेमीफाइनल खेलमा साविक विजेता वडा नं १७ लाई १-० ले पराजित गर्दै वडा नं १६ फाइनल प्रवेश गरेको हो । वडा नं १६ का खेलाडी खुशीमान लिम्बुले अतिरिक्त समयको ९७ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई उपाधि नजिक पुर्याएका थिए । निर्धारित समयको ९० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

यो जितसँगै वडा नं १६ ले गत बर्षको फाइनलको हारको वदला पनि लिएको छ । गत बर्षको २० औं गोधुली कपको फाइनलमा वडा नं १७ ले वडा नं १६ लाई पराजित गर्दै उपाधि जितेको थियो । बुधबारको सेमीफाइनल खेलको म्यान अफ दि म्याच वडा नं १६ का अमर श्रेष्ठ घोषित भए । प्रतियोगितामा बिहिबारको सेमीफाइनल खेल धरानको वडा नं १४ र वडा नं १९ बीच हुनेछ ।