धरान: धरानमा चार दिने धरान ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । 

धरान गल्फ क्लबको आयोजनामा धरान १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको पार ७० को गल्फ कोर्षमा प्रतियोगिता हुने भएको हो । क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै चैत ११ गतेदेखि १४ गतेसम्म धरान ओपन गल्फ प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ। विगतमा क्लबले एमेच्योर प्रतियोगिता मात्र आयोजना गर्दै आएको थियो । यो प्रतियोगितामा भने प्रोफेस्नल गल्फ खेलाडीहरु पनि सहभागी हुनेछन् । नेपालमा कुनै पनि क्लबले प्रोफेस्नल गल्फ प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो हो । 

चार दिने प्रतियोगितामा ३ दिन मुख्य स्पर्धा हुनेछ । अन्तिम दिन प्रो–एम म्याच हुनेछ । प्रतियोगितामा नेपालका प्रोफेस्नल गल्फरहरु सहभागी हुनेछन् । उनीहरुको संख्या ४० भन्दा बढी हुने क्लबका सचिव जितेन्द्र राईले बताए । यस्तै, एमेच्योरहरु पनि डेढ दर्जन बढी सहभागी हुनेछन् । मुख्य स्पर्धातर्फ उत्कृष्ट २१ औं स्थानसम्म रहन सफल प्रोफेस्नल खेलाडीहरुले नगद पुरस्कार पाउनेछन् । दुई दिनसम्म ३६ होलको खेल सकिए पछि कप पार गर्ने २१ औं स्थानसम्म रहेका खेलाडीहरु पुरस्कृत हुनेछन् ।

golf1

प्रथम हुने खेलाडीले नगद ९० हजार पुरस्कार पाउनेछन् भने दोस्रो हुनेले ६० हजार, तेस्रो हुने खेलाडीले ४५ हजार पाउनेछन् । एमेच्योरतर्फ प्रथम र दोस्रो हुने खेलाडीले ट्रफी पाउनेछन् । चौथो दिन प्रो एम म्याच हुनेछ । प्रतियोगिता आयोजना गर्न धरान उपमहानगर, नेपाल गल्फ एशोसिएशन, फुटवेयर विराटनगर, आरसि कोला विराटनगर र द हिमालयन रिजर्बबाट सहयोग भएको सचिव राईले जानकारी दिए । नेपाल गल्फ एशोसिएशनका केन्द्रीय उपाध्यक्षसमेत रहेका मेयर तिलक राईले गल्फ खेल र पर्यटनसँग पनि महत्वपुर्ण भएकोले भविष्यमा पनि सहयोग जारी राख्ने बताए ।