धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रदेश नं १ को एक मात्र गल्फ कोर्ष संरक्षण र सञ्चालनमा प्रदेश सरकारबाट सहयोगको खाँचो रहेको बताएका छन् ।

शनिबार चार दिने धरान ओपन गल्फ प्रतियोगिताअन्तर्गत प्रो एम स्पर्धाको पुरस्कार विरतण समारोहमा स्वागत मन्तव्यको क्रममा उनले यस्तो बताएका हुन् । प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनले गल्फ कोर्षको संरक्षण र सञ्चालन अब समुदायस्तरबाट हुनुपर्ने बताए । उनले धरान खेलकुदको राजधानी हुनको लागि धरान गल्फ कोर्ष र गल्फ क्लब हुनुपर्ने बताउदै प्रदेश सरकारको अत्यन्त ठुलो सहयोग चाहिरहेको पनि बताए । ‘धरान खेलकुदको राजधानी हुनको लागि धरान गल्फ कोर्ष र गल्फ क्लब हुनुपर्छ । यहाँको गल्फ कोर्ष समुदायस्तरमा जानुपर्छ भनेर उपमहानगर लागिपरेको छ । प्रदेश सरकारको अत्यन्त ठुलो सहयोग हामीले चाहिरहेका छौं,’मेयर राईले भने ।

मेयर राईले हाल खेलाडी र धरान गल्फ क्लबले गल्फ कोर्षको स्याहार, सम्भार गरिरहेको जानकारी गराउदै संरक्षण र सञ्चालनको जिम्मा धरानका गल्फ खेलाडीहरुलाई दिन पनि आग्रह गरे । उनले राइट मेन, राइट प्लेस भनेजस्तै गल्फ खेलाडीहरुलाई नै संरक्षण र सञ्चालन गर्न दिनुपर्ने बताए । ‘धरानको गहनाकोरुपमा रहेको गल्फ कोर्ष संरक्षण र व्यवस्थापन सहीढंगले भइरहेको छैन । वीपीले टेण्डर गरेर निजी क्षेत्रलाई जिम्मा दिदा रेखरदेख राम्रो हुन सकेन । अहिले खेलाडीहरुले र गल्फ क्लबले रेखदेख गरिरहेको छ,’उनले भने,‘म आग्रह गर्न चाहन्छु, राइट मेन, राइट प्लेस भने जस्तै जसले जे कुराको सम्भावना राख्छ, त्यो पक्षले त्यो कुराको संरक्षण गर्नुपष्र्छ । धरान गल्फ क्लब र खेलाडीहरु यसको सच्चा मालिक हो, सच्चा संवाहक हो ।’