धरान: नगर प्रमुख तिलक राईले धरान उपमहानगर खेलकुदको राजधानी रहेको बताउँदै कुन खेललाई कति सहयोग गर्ने भनेर उपमहानगरपालिकाले आवश्यक नीति बनाउने बताएका छन् ।

तेक्वान्दो खेलका लागि खेलकुद सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख राईले यस्तो बताएका हुन् । उनले आइतबार धरानका खेलकुद संघसंस्था, क्लब र पदाधिकारीहरुसहित बैठक आयोजना गरिएको जानकारी दिदै आगामी बजेट र नीतिबारे छलफल गरिने बताए । उनका अनुसार उपमहानगरपालिकाको सहयोग लिएर खेलकुद गतिविधिहरु आयोजना गर्ने क्लबहरु, संघ संस्थाहरु र पदाधिकारीसहितको बैठक हुनेछ । 

मेयर राईले खेलकुदको बजेट लगेर कार्यक्रम तथा गतिविधिहरु नगर्ने र नाम मात्रको कार्यक्रम गर्ने गरेकोप्रति असन्तुष्टी प्रकट गर्दै अब जथाभावीरुपमा सबै संघ संस्था, क्लबहरुलाई उपमहानगरपालिकाले पैसा दिन नसक्ने पनि धारणा व्यक्त गरे । ‘जुन क्लब, जुन संघ संस्थाहरुले धरानको गरिमा बढाउने गरि, धरानको ईज्जत जोगाउने गरि, र त्यो खेलसँग सम्बन्धित खेलाडीहरुलाई प्रोमोट गर्ने, खेलाडी उत्पादन गर्ने, खेल प्रतियोगितालाई सही ढंगबाट जसले सञ्चालन गरेकोछ, त्यस्तो आयोजक, त्यस्तो संघ संस्थालाई मात्रै अब हामी पैसा दिने नीति निर्माण बनाउनका लागि बैठक बोलाएका हौं,’उनले भने ।

tekwando

मेयर राईले धरानलाई केन्द्रविन्दु बनाएर राष्ट्रिय, अन्तराष्ट्रिय, प्रदेश, नगर स्तरिय, वडा स्तरिय प्रतियोगिता गर्ने क्लब संघ संस्थाहरुलाई बैठकमा बोलाएको पनि बताए । उक्त बैठकमा समिक्षा गर्ने र त्यो समिक्षाको आधारमा आगामी बजेट बन्ने उनले बताए । तेक्वान्दो खेलले थुप्रै मेडलहरु जितेको बताउँदै मेयर राईले तेक्वान्दोले धरानलाई चिनाउन सफल भएको पनि बताए । धरानमा क्रियाशिल विभिन्न डोजाङहरुलाई आवश्यक पर्ने खेलकुद सामाग्रीहरु उपलब्ध गराउँदै आएको बताउँदै नगर प्रमुख राईले खेलाडीहरुलाई भावना साथ खेल्न र खेललाई दिर्घकालिन बनाउन आग्रह गरे । 

धरान उपमहानगरद्वारा खेलकुद सामाग्री हस्तान्तरण

tekwando3

धरान उपमहानगरपालिकाले तेक्वान्दो खेलको विकासका लागि खेलकुद सामाग्री खेलाडीहरुलाई हस्तान्तरण गरेका छन् । 

नगर प्रमुख तिलक राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर आज (शनिबार) १ लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् । तेक्वान्दो खेलको विकासका लागि उपमहानगरपालिकाले चेस्ट कभर लेदरको ४ थान, हेड कभर लेदरको ४ थान, गुलिङ कभर प्लाष्टिकको ४ थान, सिंग कभर साधारण ४ थान, हेण्ड कभर साधारण ४ थान, किक प्याड साधारण २९ थान, किक प्याड भिडियम ४ थान र किक प्याड (ठूलो) ४ थान हस्तान्तरण गरेको जनाएको छ । tekwando2

उक्त खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा सुनसरी तेक्वान्दो डोजाङ संघका अध्यक्ष कुमार गुरुङ, धरान तेक्वान्दो डोजाङ संघका संस्थापक नविनचन्द्र मादेन, धरान उपमहानगरका खेलकुद संयोजक सुवास राई, धरान उपमहानगरका तेक्वान्दो प्रशिक्षक सुरज कार्की, धरान तेक्वान्दो डोजाङ प्रमुख गोपाल राई, भोटेपुल तेक्वान्दो डोजाङ प्रमुख मदन कुमार राई र फुस्रे तेक्वान्दो डोजाङ प्रमुख विवेक राईको उपस्थिति रहेको थियो ।