धरान: गत वर्ष कोरोनाको कारण रोकिएको छैठौं इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता यसपाली हुने भएको छ । 

धरान गल्फ क्लब तथा प्रायोजक बराह गु्रपले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै बैशाख पहिलो साता प्रतियोगिता हुने जानकारी दिएको छ । क्लबका अनुसार पार ७० को धरान गल्फ कोर्षमा बैशाख ४ गते प्रतियोगिता हुनेछ । बराहका परिकल्पनाकार एवं संस्थापक स्वर्गीय इन्द्रकुमार लामिछानेको स्मृतिमा प्रतियोगिा आयोजना हुदै आएको छ ।

क्लबका अध्यक्ष टीका लिम्बूका अनुसार प्रतियोगितामा  देश भरका ३ महिलासहित ४३  भन्दा बढी एमेच्योर खेलाडीहरुले सहभागीता जनाउनेछन् । प्रतियोगिताका विजेताले ट्रफीसँगै वराहको तर्फबाट भौचर समेत पाउने छन् ।   

प्रतियोगितालाई बराह ग्रुपले प्रायोजन गरेको छ । गत सँस्करणको उपाधी इटहरीका सन्तोष कार्कीले जितेका थिए । बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले आफ्ना बुवा इन्द्रकुमार लामिछाने खेलकुद प्रेमी भएको स्मरण गर्दै गल्फसँग अत्यन्तै लगाव भएको बताए । बुबाको केही अधुरा सपना पुरा गर्न पनि गल्फ प्रतियोगिता बार्षिक रुपमा प्रायोजन गरिरहेको उनले बताए ।