विराटचोकः सुन्दरहरैंचामा प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । 

सुन्दरहरैंचा १२ स्थित शुक्रबारेको खेल मैदानमा भएको उद्घाटन खेलमा लेटाङ नगरपालिका टाइब्रेकरमा ४– ३ गोलअन्तरले जित हासिल गरेको छ । निर्धारित समयमा लेटाङ र बेलबारी नगरपालिका दुवैले निर्णायक गोल गर्न नसके पछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा लेटाङका यमन मगर, सुन्दर साँवा लिम्बू, समन तामाङ र टिम क्याप्टेन अभिषेक लिम्बूले गोल गरेका थिए । गोलकिपर अञ्जित श्रेष्ठले गरेको प्रहार भने गोल पोष्टको क्रसबारको माथिबाट बाहिरिएको थियो । 

त्यस्तै, बेलबारीका देवेन धिमाल, कासिम राई र मिलन परियारले गोल गरेका थिए । बेलबारीका किरण लिम्बू र अरुण लिम्बूको प्रहार भने लेटाङका गोलकिपर अञ्जित श्रेष्ठले बचाएका थिए । खेलको म्यान अफ द म्याच लेटाङ नगरपालिकाको टिमका गोलकिपर अञ्जित श्रेष्ठ घोषित भए । उनले नगद २ हजार र मेडल पाए । निर्धारित समयमा दुवै तर्फका खेलाडीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए । बेलबारीका खेलाडी राजकुमार राईले गरेको प्रहार लेटाङका गोलकिपर श्रेष्ठले रोकेका थिए । दोस्रो हाफमा अभिषेक लिम्बूूको लामो प्रहारलाई रक्षा पंक्तिका खेलाडी सुुमन श्रेष्ठले गरेको हेड गोलपोस्टको बारमा लागेर बाहिरिएको थियो । 

mayor-cup

दोस्रो हाफमा नै लेटाङका खेलाडीले गरेको प्रहार पनि गोल हुन सकेन । बेलबारीका टिम क्याप्टेन देवेन धिमालले त्यसलाई क्ल्यिर गरेपछि लेटाङले कर्नर किक पाए पनि गोल गर्न भने सकेन । प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ वटा टिमले सहभागिता जनाएको छ । प्रतियोगिताको विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् । मगलबारको खेल रतुवामाई नगरपालिका र उर्लाबारी नगरपालिकाबीच हुने भएको छ । प्रतियोगिताको फाइनल बैशाख १४ गते हुनेछ । 

प्रतियोगिताको आयोजक सुन्दरहरैंचा नगरपालिका र सह आयोजक सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ रहेको छ । खेलको व्यवस्थापनको जिम्मा शुक्रबारे युवा क्लबले लिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले खेलाडीको प्रतिभा उजागर गर्न मद्दत पुगोस् भनेर प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता प्रतियोगिताले नगरपालिकाबीच समन्वय हुने र भाइचाराको सम्बन्ध स्थापित हुुने उल्लेख गरे ।