धरान: सर्दु खोलामा उत्खनन् रोक्न पुगेका हर्क साम्पाङ पक्षको भनिएका ५ जनालाई अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद थप भएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले उनीहरुलाई १० दिनको हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको हो । हर्क साम्पाङको आह्वानमा बुधबार दिउँसो उनी पक्षीय व्यक्तिहरु धरान १७ र २० को सिमाना सर्दु खोलामा ठेक्कामार्फत भइरहेको उत्खनन् रोक्न पुगेका थिए । उनीहरुले काम रोकेर स्काभेटर र ट्रिपरलाई जर्बजस्ती फर्काउन थालेपछि ठेकेदार पक्षका युवाहरु मोटरसाइकलमा पुगेर आक्रमण गरेका थिए । 

उक्त दिन प्रहरीले हर्क साम्पाङ पक्षको भनिएका ७ जनालाई पक्राउ गरेको थियो । ती मध्ये २ जना जंगलमा पात र घाँस टिप्न गएका भारतीय सेना, नेपाली सेनामा कार्यरत व्यक्ति परेपछि राती नै छोडेको थियो भने अन्य ५ जनालाई जिल्ला प्रहरी कार्यालय इनरुवा पठाएको थियो । प्रहरीले राजेश खिम्दुङ, मिलन राई, गीता राई, सोमला राई र क्षितिज थापालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाएको हो । 

ती मध्ये हाल राजेश र मिलन मात्र हिरासतमा छन् । अन्य ३ जनालाई तत्कालमा जमानीमा छोडिएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । उनीहरु विगतमा कोभिडका विरामी भएको र थुनुवा धेरै भएकोले संक्रमण फैलिन नदिन जमानीमा छोडिएको डिएसपी कार्कीले बताए । ‘सबैलाई १० दिनको म्याद थपिएको हो, ३ जनालाई जमानीमा छोडिएको छ तर मुद्दा आफ्नै प्रक्रियामा अघि बढ्छ,’डिएसपी कार्कीले भने,‘वयान लिन बोलाउदा आउनु पर्छ ।’

पक्राउ परेका मध्ये क्षितिज हर्क साम्पाङ समुहका युवा नभएको भन्दै जनता समाजवादी पार्टीले उनलाई रिहा गर्न पहल गरेको थियो । उनी जसपाका युवा कार्यकर्ता हुन् । सर्दुमा झडप भएको दिन उनलाई एक जना परिचित व्यक्तिले फोन गराएपछि पुगेको र अचानक उनलाई हर्क साम्पाङ पक्षको ठानेर ठेकेदार पक्षले कुटपिट गरेको जसपाका नेताहरु बताउने गरेका छन् । ठेकेदार पक्षले भने स्काइभेटरलाई जलाउने धम्की दिएको र अपरेटरलाई कुटपिट गरेपछि मजदुरहरुले प्रतिकार गरेको दाबी गर्दै आएको छ । 

प्रहरी भने घटनाको मुख्य नाइके हर्क साम्पाङ भएको र उनकै उक्साहटमा उक्त घटना भएको दाबी गर्छ । साम्पाङ भने गएको सोमबारदेखि नै भुमिगत भएका छन् । सर्दु खोलाबाट फर्कने क्रममा धरान ११ मंगलबारे चोकमा प्रहरीले चाबी खोसेपछि महिला प्रहरीसँग तानातान भएको थियो । सोही क्रममा महिला प्रहरीको हात सुन्निने गरि घटना भएपछि उनी भुमिगत भएका हुन् । प्रहरीले उनलाई खोजी गरिरहे पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।