धरान: केही दिनदेखि हर्क साम्पाङ सर्दु खोलामा भइरहेको उत्खनन् रोक्ने अभियानमा थिए ।  दुई दिनअघि सोमबार सर्दु खोलाबाट फर्कने क्रममा मंगलबारेमा प्रहरीको चेकिङ थियो । समुहमा आइरहेका उनलाई प्रहरीले रोकेर मोटरसाइकलको चाबी खोस्यो । त्यसक्रममा प्रहरीसँग उनको विवाद मात्र भएन, चाबी खोसाखोस हुँदा महिला प्रहरीको हात सुन्निने गरि घटना भयो ।

यो घटना पछि आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउने साम्पाङ भुमिगत छन् । प्रहरी उनलाई खोजी गरिरहेको छ । उनको मोवाइल स्वीच अफ छ । तर, उनी सामाजिक सञ्जाल फेसबुकमा भने सक्रिय छन् । उनले सर्दु खोला उत्खनन् रोक्न आह्वान गर्दै पोष्ट गरिरहेका थिए । सोही अनुसार उनको समर्थन गर्ने टिम बुधबार पनि सर्दु खोला उत्खनन् रोक्न पुगेको थियो । त्यसक्रममा अप्रिय घटना हुन पुग्यो ।

उत्खनन् रोकेर स्काइभेटर र ट्रिपरलाई फकाईरहेको टोलीमाथि ठेकेदार पक्षका युवाहरु पुगेर अन्धाधुन्दा आक्रमण गरे । आधा दर्जन जति घाइते भएका छन् । यद्यपी, ठेकेदार पक्षले भने स्काइभेटरका चालकलाई कुटपिट भएपछि कामदारहरुले नै प्रतिकार गरेको दाबी गरेका छन् । स्काइभेटर चालकहरुले इलाका प्रहरीमा कार्यालयमा उजुरी दिएका छन्, र ७ जनालाई कानुनी कारबाही हुने ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत बताउँछन् । ‘जेसिबि चालकहरुले उजुरी दिएको छ, ७ जना पक्राउ परेका छन्, कानुनी कारबाही हुन्छ,’डिएसपी बस्नेतले भने,‘आजको घटना पनि हर्क साम्पाङको निर्देशनमा भएको देखिन्छ ।’

सोमबारदेखि नै साम्पाङले उदण्ड मच्चाएको र प्रहरीमाथि हातपातसमेत गरेको डिएसपी बस्नेतको भनाई छ । ‘प्रहरीमाथि हातपात गर्ने, हेल्मेट लगाएर आउ भनेर प्रहरीलाई चुनौती दिने गरिरहेको छ । प्रक्रिया पुर्याएर भइरहेको काम रोक्ने अधिकार जो पायो त्यही व्यक्तिलाई हुदैन,’डिएसपी बस्नेतले भने,‘सरोकार भए सम्बन्धित निकायमा जानुपर्छ ।’

के भन्छन् हर्क साम्पाङ ?

मोवाइल स्वीच अफ गरेर भुमिमत भएका साम्पाङ गएको उपनिर्वाचनमा धरानमा मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए । पछिल्लो समय उनले धरानको खानेपानीको बिषयलाई प्रखररुपमा उठाएर आन्दोलन गरे । उनको समर्थन गर्नेहरु पनि छन्, उनीहरु साम्पाङलाइ सामाजिक अभियन्ता भन्छन् । तर, साम्पाङको उग्रपनलाई मन नपराउनेहरु उनलाई अराजक व्यक्तिकोरुपमा लिन्छन् । यसअघि खानेपानी मुहानको पाइप तोडफोड गरेपछि उनी पक्राउ परेका थिए । 

भुमिगत रहेका साम्पाङ अहिले पनि फेसबुकमा भने सक्रिय छन् । उनले सर्दु उत्खनन् रोक्न जादा आक्रमण गर्नेहरुलाई पक्राउ गर्न माग गरेका छन् । साम्पाङले जनता स्वतस्फुर्तरुपमा उत्खनन् रोक्न गएको भन्दै आफुले नगएको दाबी गरे । ‘मैले लगेर गएको भए त म पनि उपस्थित हुने थिएँ । मेरो साथीहरु हुन्, तर मेरो नेतृत्वमा थिएन, स्वतस्फुर्त आफ्नो माटो बचाउन गएका हुन्,’क्लिकधरानसँग मेसेन्जरमा कुरा गर्दै उनले भने,‘आजको घटनाको जिम्मेवारी मेयर, वडा अध्यक्ष र ठेकेदारले लिनुपर्छ ।’

नदी दोहन गर्नेहरुले नै केटाहरु पठाएर आक्रमण गराएको उनको दाबी छ । प्रहरीले उल्टै पीडितलाई नै पक्रेर अन्याय गरेको पनि उनले बताए । ‘मलाई पक्रेर थुन्नको लागि यो सब भइरहेको छ,’उनले भने । सोमबार मंगलबारे चोकमा भएको घटनामा महिला प्रहरीमाथि आफुले हातपात पनि नगरेको उनले दाबी गरे । ‘चाबी पुरुष प्रहरीले खोसेको हो, महिलाले होइन,’उनले भने ।