धरानः २६ औं विश्व खेलकुद दिवसको अवसरमा धरानका ७ जना स्वर्ण पदक विजेता बक्सिङ खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार दिइएको छ । 

सुनसरी जिल्ला बक्सिङ संघले धरान १६ स्थित रंगशालामा एक कार्यक्रम आयोजना गरि नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा धरानका मेयर तिलक राईले खेलाडीहरुलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरेका थिए । धरानमा गत चैत्र २५, २६ र २७ गते आयोजित प्रदेश स्तरीय वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसीपमा ७ जना खेलाडीहरुले स्वर्ण पदक जितेका थिए । 

विजेता खेलाडीहरुलाई सुनसरी जिल्ला बक्सिङ संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रोत्साहन पुरस्कार वितरण गरिएको हो । बक्सिङ खेलमा पहिलो पटक रिङमा प्रवेश गर्ने खेलाडीलाई नोभिस भनिन्छ । मेयर राईले स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही नगद ५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसार पुरस्कार प्रदान गरिएको सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकास कुमार गुभाजुले जानकारी दिए । 

boxing1

उनका अनुसार उक्त प्रतियोगितामा महिलातर्फ (५१ केजि) ओङबुङ्ला हाङमा शुभानी राई, (५४ केजि) एलिसका रत्न, (५७ केजि) सृजना गुरुङले स्वर्ण पदक प्राप्त गरेका थिए भने पुरुषतर्फ (५२ केजि) सिंहवीर लिम्बु, (५६ केजि) सौगात लामा, (६४ केजि) धिरज गुरुङ र (७५ केजि) अमृत लिम्बुले स्वर्ण पदक जितेका थिए । पदक विजेता खेलाडीहरुसँगै प्रशिक्षक शौरभ लामालाई पनि मेडलद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा मेयर राई र वडा नं. १८ का वडाध्यक्ष प्रविण राई (नरेन्द्र)ले बक्सिङ संघलाई ५ हजार रुपैयाँ सहयोग समेत गरे । 

मेयर राईले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले खेललाई व्यवसायिकरण गर्न पनि सुझाव एि । उनले बक्सिङ खेलको अत्यन्तै महत्व रहेको बताउँदै बक्सिङ खेलले धरानलाई चिनाएको धारणा व्यक्त गरे । शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख रत्न कट्वालले राष्ट्रको शिर उच्च बनाउने क्षेत्र खेलकुद भएपनि सोचे जस्तो तरिकाले अघि बढ्न नसकेको बताए । कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य देवेन्द्र बहादुर लिम्बूले स्वागत मन्तव्य राख्दै २६ औं विश्व खेलकुद तथा सुनसरी जिल्ला बक्सिङ संघको स्थापना भएको जानकारी गराएका थिए ।