धरान: कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि जारी निषेधाज्ञाको कारण बन्द भएको सार्वजनिक यातायात सुनसरी जिल्लामा पनि आजदेखि सञ्चालनमा आएको छ ।
सुनसरीमा पनि यातायात खुले पछि प्रदेश १ मा सार्वजनिक सवारी चल्न छुट दिने जिल्लाको संख्या ४ पुगेको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ १ नम्बर प्रदेश समिति संयोजक सरोज श्रेष्ठका अनुसार यसअघि मोरङ, झापा र उदयपुर जिल्लामा हिजो मंगलबारदेखि नै जोर विजोर प्रणालीमा यातायात सुचारु भइसकेको थियो । सुनसरीमा आजदेखि सार्वजनिक सवारी खुलेको हो । यी चार जिल्लामा सार्वजनिक सवारी आवतजावतमा गर्न पाउनेछन् । तर, काठमाण्डौंलगायत लामो दुरीको सवारीहरु भने पास लिएर मात्र जान पाउनेछन् । अन्य जिल्लाहरुमा भने अझै पनि सार्वजनिक यातायात खुलेको छैन । गत बैशाख तेस्रो सातादेखि निषेधाज्ञाको कारण यातायात पुर्णरुपमा बन्द थियो ।

प्रशासनले जोर गतेको दिन जोर नम्बरको सवारी र विजोर गतेको दिन विजोर नम्बरको सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । यातायात खुले पनि कोरोना संक्रमण पुर्णरुपमा न्युनीकरण नभएकोले यात्रुहरु कम रहेको र गाडीहरु पनि पातलो संख्यामा मात्र निस्किएको महासंघका संयोजक श्रेष्ठले बताए । ‘गाडीहरु त खुल्यो, तर एकदमै पातलो छ,’उनले भने,‘कोरोनाले गर्दा पनि यात्रु कम छ । अर्को कुरा पेट्रोल, डिजेलको भाउ बढेको बढेकै छ, तर भाडा समायोजन भएको छैन । व्यवसायीहरु यसै मर्यौं, उसै मर्यौं भनेर गाडी निकालेका छैनन् ।’









