एजेन्सी: दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । 

नेपाली समय अनुसार आज (आइतबार) बिहान सम्पन्न फाइनलमा घरेलु टोली ब्राजिललाई १ ० ले हराउदै अर्जेन्टिनाले उपाधि जितेको हो । यो जितसँगै लियोनल मेस्सीको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय उपाधि जित्ने खडेरी पनि मेटिएको छ । विश्व फुटबलका सुपरस्टार मेस्सीले क्लब फुटबलमा थुप्रै उपाधि जितेपनि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो । 

ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा ब्राजिललाई हराउदा अर्जेन्टिनाका एंगेल डी मारियाले निर्णायक गोल गरे । उनले खेलको २२ औं मिनेटमा डी पाउलको लामो पासमा गोल गरेका थिए । 

यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकामा १५ औं पटक च्याम्पियन बनेको छ । उरुग्वेले पनि १५ पटक नै जितेको छ । अर्जेन्टिनाले सन् १९९३ मा कोपाको उपाधि जितेपछि भने उपाधिको खडेरी लागेको थियो । त्यसयता प्रमुख प्रतियोगिताहरुमा अर्जेन्टिनाले फाइनल खेले पनि उपाधि विहिन भएको थियो ।