धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना भित्र स्मार्ट बसपार्क बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

बुधबार उपमहानगरपालिका र निर्माण व्यवसायी गिताञ्जली जेभि दुहबी सुनसरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण गर्ने गरि स्थानीय जग्गादाताहरुले निःशुल्क जग्गा दिएका छन् । 

उपमहानगरका अनुसार ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्य अघि बढाउनेछ । करसहित गरेर २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । “३ वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । ५० प्रतिशत नेपाल सरकारको अनुदान ३ वर्षभित्रमा प्राप्त हुन्छ भने बाँकी ५० प्रतिशत स्रोत धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ,”इञ्जिनियर श्रेष्ठले भने । 

dharan-smart-buspark

मेयर राईले लामो समयदेखि थाती रहेको योजनालाई सम्झौता गरेर अगाडी बढाउन पाउदा खुशी लागेको बताए । धरानको विकास र समृद्धिको लागि बसपार्क योजना महत्वपुर्ण रहेको उनले बताए । बसपार्क निर्माण कार्य चाडै सम्पन्न भए धरानको सुन्दरता थप झल्किने मेयर राईले बताए । उनले योजना समयमै गुणस्तरीयरुपमा सम्पन्न गर्न सुझाव पनि दिए । 

उपमेयर मञ्जु भण्डारीले ३० वर्षदेखि जनप्रतिनिधिले देखेको सपना अब पुरा हुन लागेको बताइन् । उनले भण्डारीले पनि समयमा नै योजना सम्पन्न गर्न आग्रह गरिन् । निर्माण व्यवसायी गिताञ्जली जेभिका सञ्चालक सपन दासले १५ दिनभित्रमा काम निर्माण थाल्ने बताए । साथै उनले तोकिएको समयभित्रै निर्माण कार्य पुरा हुने पनि बताए ।

तीन तलाको डिजाइन भएको यो बसपार्कको बेसमेन्टमा पार्किङ मात्र हुनेछ । त्यहाँ सुमो, हायस, कारलगायत २ सय संख्यामा साना गाडी पार्किङ हुनेछ भने डेढ सय हाराहारीमा मोटरसाइकल पनि अट्ने क्षमता रहनेछ । ग्राउण्ड फ्लोरमा टिकट विभिन्न रुटमा छुट्ने गाडीहरुको राख्ने संरचना बन्ने छ । साथै, टिकट काउन्टर, यात्रुहरुलाई वेटिंग, सेक्युटिरी, शौचालयलगायत संरचना हुनेछ । तेस्रो तलामा आफिस प्रयोजन, रेष्टुरेष्ट वा अन्य सेवाहरु पनि हुनेछ ।

बसपार्क निर्माण गर्ने मुख्य उद्देश्य राखेर शुरु भएको आयोजना डेढ दशकदेखि विवादको कारण अलपत्र परेको थियो । बसपार्कलाई आवश्यक जग्गा स्थानीयबासीले उपलब्ध गराएको हो । बसपार्कबाहेक सेल्स प्लटको जग्गा पनि स्थानीयले नै दिएको हो । राजनीतिक खिचातानी र जग्गा व्यापारीहरुसँग मिलेर कर्मचारीहरुले नै जग्गा किनेर सुविधायुक्त ठाउँमा आफ्नो जग्गा राखेको भन्दै जग्गाधनीहरु असन्तुष्ट भई विरोध गरेपछि आयोजना अघि बढ्न सकेको थिएन । २०७४ को स्थानीय तह निर्वाचन पछि तत्कालिन मेयर स्वर्गीय तारा सुब्बाले यो आयोजनाको विवाद समाधान गर्न र निर्माण कार्य अघि बढाउन उपमेयर मञ्जु भण्डारी सुवेदीलाई जिम्मेवारी दिएका थिए । उनले पटक पटक स्थानीय जग्गाधनीहरुसँग छलफल गर्दै समस्या हल गर्न पहल गरेकी थिइन् ।