धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेजिडेन्ट डाक्टरहरुले आजदेखि इर्मजेन्सीबाहेक सेवाहरु बहिष्कार गर्ने घोषणा गरेका छन् ।

हिजो आइतबार राती प्रतिष्ठानका डिएम र एमडि अध्ययनरत विद्यार्थी दम्पत्तिलाई आवास खाली गराउन दबाब दिदै आएका लेखा प्रमुख कमल रायमाझीले मादक पदार्थ सेवन गरेर धाकधम्की दिएको, गालीगलौज गरेको विरोधमा जुनियर रेजिडेन्टहरुले इर्मजेन्सीबाहेक सेवाहरु बहिष्कार गर्ने घोषणा गरेका हुन् । घटनाको विरोधमा गए राती नै विज्ञप्ती जारी गर्दै जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले रायमाझीलाई आन्तरिक कारबाही स्वरुप प्रशासनबाट जिम्मेवारी मुक्त गर्न पनि माग गरेको छ । 

लेखा प्रमुख रायमाझीलाई जिम्मेवारी मुक्त नगरेसम्म आजदेखि सम्पुर्ण जुनियर रेजिडेन्टहरु इर्मजेन्सीबाहेकको उपचार सेवामा सहभागी नहुने पनि प्रष्ट सोसाइटीले घोषणा गरेको छ। साथै, सोसाइटीले कयौं विद्यार्थी, चिकित्सक, सिनियर रेजिडेन्ट, कर्मचारीहरुले आवास नपाइरहेको अवस्थामा एउटै व्यक्तिलाई दुई वटा आवास दिने चिट्ठी के कारणले काटिएको हो, यसबारेमा पनि चित्त बुझ्दो जवाफ दिन आवास समिति र प्रतिष्ठान प्रशासनलाई सोसाइटीले चुनौती दिएको छ । 

Jr

हिजो राती लेखा प्रमुख रायमाझीले मदिरा पिएर उनकै आवास नजिक रहेका डिएम अध्ययनरत डा.विप्लव कार्की परिवारलाई अपशब्द बोल्दै गालीगलौज, धम्की दिएको भन्दै लफडा भएको थियो । घटनाबारे थाह पाएपछि विद्यार्थीहरु, आवासिय चिकित्सकहरुले रायमाझीको आवास घेराउ गरेका थिए भने प्रहरीमा पीडित भनिएका डाक्टरले लिखित निवेदन दिएका छन् । प्रहरी घटनास्थल पुग्दा रायमाझी भने फरार भइसकेको विद्यार्थी एवं जेआरहरुले बताएका छन् ।

रायमाझीले भने आफुले मदिरा सेवन नगरेको र धाकधम्की पनि नदिएको जनाएका छन् । राती नै क्लिकधरानसँग मोवाइल सम्पर्कमा उनले विगतदेखि नै डा.कार्कीसँग सल्लाह गरेर उनलाई एस टाइपमा कोठा उपलब्ध भएपछि प्रक्रिया पुरा गरेर पत्र पठाएको दाबी गरेका छन् । 'म र श्रीमतिले नै उहाँसँग सल्लाह गरेर एस टाइपमा कोठा भेटिए पनि देखाएको पनि हो । आवश्यक पत्रहरु दिएर सर्ने तयारी गर्दा गर्दै फेरि चाबी र पत्र फर्काइदिनु भएछ,'रायमाझीले भने,‘त्यही बिषयमा आज विप्लवलाई वचन पनि पुरा नगर्ने ? के गरेको ? पहिला नै सर्दिन भनेको भए हुन्थ्यो, भनेर त त म म भएको हो । तर मैले पिएर गाली गरेको होइन, प्रहरी बोलाउनु भएछ । नियोजित जस्तो भयो ।’ उनले आफु भागेको नभै पाहुना पनि आएकोले बिहानको लागि ब्रेड किन्न आएको बेला क्वार्टरअघि भिड जम्मा भएकोले श्रीमतिले नआउनु भनेपछि कोठा नगएर बाहिरै बसेको पनि बताए ।