धरान: कोरोना महामारीको कारण भिडभाड हुन नदिन सम्पुर्ण धार्मिकस्थल एवं मठमन्दिरहरु प्रशासनले बन्द गराएको छ । यही कारण विगतका बर्षहरुमा साउनको सोमबार हजारौं भक्तजनहरु आउने धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिर पनि बन्द नै छ ।

पिण्डेश्वर बाबाधाम समितिले पनि कोभिड १९ को उच्च जोखिम रहिरहेको कारण यसपाली बोलबम धार्मिक मेला नलगाउने निर्णय गरेको छ भने भक्तजनहरुलाई पनि मन्दिर नआउन आग्रह गरिसकेको छ । तथापी, आज साउनको पहिलो सोमबार धरानका मात्र होइन, धरानबाहिरबाट पनि भक्तजनहरु आइरहेका छन् । तर उनीहरुले मन्दिर भित्र प्रवेश गरेर फुलपाती र जल चढाउने अवसर भने पाएका छैनन् ।

bolbam1

पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार मन्दिरको मुलगेट नै बन्द गरिएको छ । जसले गर्दा भक्तजनहरुले गेटमा नै पुजा गरेर फर्किइरहेका छन् । ‘मन्दिर बन्द छ, र पनि साउनको सोमबार हो, भक्तजनहरु आइहाल्छन्,’वनेपालीले भने,‘विराटनगरबाट पनि गाडीमा भक्तजनहरु जल चढाउन आएका थिए, उहाँहरु पनि गेटमा पुजा गरेर फर्किनुभयो ।’

गत बर्ष पनि कोरोना महामारीको कारण मठमन्दिरहरु बन्द थियो । गत बर्ष पनि यसपाली झै पिण्डेश्वरमा बोलबम धार्मिक मेला लागेको थिएन । साउनको सोमबार हिन्दु आराध्यदेव शिवको प्रिय बार मानिन्छ । यो दिन महिलाहरु ब्रत बस्ने, शिवालयहरुमा पवित्र जल चढाउने गर्छन् । धरानको पिण्डेश्वर महादेवको मन्दिरमा कोशी नदीको जल हिडेर ल्याउने र चढाउने चलन छ । यहाँ साउनको सोमबार नेपाल, भारत र भुटानबाट पनि भक्तजनहरु आउने गर्छन् । तर कोरोनाको कारण यो क्रम रोकिएको २ बर्ष भएको छ । 

bolbam2

bolbam3

bolbam4

bolbam5

bolbam6

bolbam7