धरान: धरानको नगर कार्यपालिका सदस्य तथा नगर खेलकुद विकास समिति संयोजक सुवास राईको निधन भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । प्रतिष्ठानमा नै कलेजो र मृगौलाको पनि उपचार गराइरहेका राईलाई २ दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि घरमा लगिएको थियो । होम आइसोलेसनमा रहेको बेला हिजो राती अक्सिजन लेभल कम देखिएपछि पुनः प्रतिष्ठानमा लगिएको र आज बिहानै निधन भएको गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । 

धरान १७ निवासी स्वर्गीय राई फुटवल खेलाडी नभएपनि फुटबल खेलको प्रर्वद्धन तथा विकासमा उल्लेख्य योगदान पुर्याएका थिए । हाल नगर कार्यपालिका सदस्य रहेका राई नेकपा एमालेबाट २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा वडा नं १७ मा लगातार २ पटक वडाअध्यक्ष जितेका थिए । यस्तै, उनी धरानको चर्चित फुटबल क्लब गोधुली क्लबको संस्थापक पनि हुन् भने बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबको पुर्वअध्यक्ष पनि हुन् । श्रीमतिसँग अलगिएका राई आमा, भाई र एक छोराको साथमा बस्दै आएका थिए । मृतक राईको आजै अन्त्येष्टी गरिने गोधुली क्लबका उपाध्यक्ष केसीले जानकारी दिए ।