विराटनगर: मोरङको विराटनगरमा रहेका अस्पतालहरुमा उपचार गराउन आएका विरामीका आफन्तहरुलाई अस्पतालहरुबारे अफवाह फैलाउदै आफ्नो सेटिङमा रहेको अस्पताल वा क्लिनिकमा लैजान बिचौलियाको काम गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर ८ अमर टोलका १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय अनन्द कुमार साह रहेका छन् । उनीहरुले आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा विरामीलाई उपचारको लागि प्रेरित गर्ने गरेको र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने गरि बिचौलियाको काम गरेर सर्वसाधारणहरुलाई हैरानी दिइरहेको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीले दुवैलाई बिहिबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । साथै, यस खालको व्यवहारबाट अरु कोही पीडित भएको भए सम्पर्क गर्न पनि जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारणहरुलाई अनुरोध गरेको छ ।