धरान: ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरानको पनि महिला फुटबल टिम सहभागी हुने भएको छ । 

मेयर तिलक राईको अध्यक्षतामा शनिबार भएको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरानको पनि महिला फुटबल टिमलाई सहभागिता गराउने निर्णय गरेको हो । महिला फुटबल टिम तयार गर्न तालिम सञ्चालन गर्ने र त्यसको लागि सुचना प्रकाशित गरेर आह्वान गरिने भएको छ । धरानका विभिन्न वडामा उपलब्ध खेलाडीहरु तथा धरान महिला फुटबल क्लबका खेलाडीहरुलाई फुटबल उपलब्ध गराएर प्रशिक्षण गराउने निर्णय भएको छ । 

छलफल पश्चात मेयर राईले महिला खेलाडीहरुलाई चार थान फुटबल पनि हस्तान्तरण गरेका थिए । महिला खेलाडीहरुलाई अनुशासित तथा लगनशिल भएर फुटबल अभ्यास गर्न मेयर राईले आग्रह गरे । महिला फुटबल टिमलाई उजागर गर्नका लागि उपमहानगरपालिकाको साथ, सहयोग हरदम रहने पनि मेयर राईले प्रतिवद्धता व्यक्त गरे । 

छलफलमा धरान महिला फुटबल टिमका प्रशिक्षक भगवती राना मगरले महिला फुटबल खेललाई विकास गर्नका स्थानिय सरकारको मुख्य भूमिका हुनुपर्ने बताइन् । प्रशिक्षक राना मगरले अहिले अधिकांश महिला खेलाडीहरुको परिक्षा सञ्चालन हुन गईरहेको कारण विगतमा जस्तो धेरै समय फुटबल अभ्यास नहुने पनि जानकारी दिइन् । उनले समय मिलाएर फुटबल अभ्यास गराउने बताइन् । छलफलमा धरान महिला फुटबल क्लबकी क्याप्टेन सुस्मिता राईले फुटबल खेल्न घरपरिवारले नै प्रोत्साहित गरेको बताइन् ।