धरान: धरान ६ पानवारीस्थित माइती घरमा झुण्डिएर आत्महत्या गरेकी मनिषा मगरको प्रेमी भनिएका स्थानीय युवालाई आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । 

मृतक मनिषाकी बहिनीले प्रहरीमा जाहेरी दिएपछि प्रेमी भनिएका सुनिल बस्नेत पक्राउ परेका थिए । उनलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको र अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । प्रहरीका अनुसार सुनसरी जिल्ला अदालतबाट बस्नेतलाई आज सोमबार ७ दिनको म्याद थप भएको छ । 

झापा विवाह गरेकी मनिषा र बस्नेतबीच विवाह अघिदेखि नै प्रेम थियो । बस्नेतले नै स्वीकार गर्ने आश्वासन दिएपछि मनिषाले श्रीमान छोडेर करिब ३ बर्षअघि माइती आएको उनको परिवारजनको भनाई छ । विदेशमा रहेका बस्नेतले नै खर्च दिने गरेको र मनिषा काठमाण्डौंमा बस्दै आएकी थिइन् । विदेशबाट घर आउदा उनीहरु दुवै सँगै बस्ने गरेको मृतकको आफन्तजनको भनाई छ । 

यसपटक भने प्रेमी सुनिलले मनिषालाई सोमबार(आज) केटी अर्को केटी भगाउदैछु भनेपछि काठमाण्डौंबाट शुक्रबार नै मनिषा धरान आएकी थिइन् । उनले शनिबार बिहानैदेखि सुनिललाई भेट्न प्रयास गरेकी थिइन् । उनी सुनिलको घर, वडा अध्यक्ष र प्रहरीमा पनि पुगेकी थिइन् । सबैतिरबाट आफ्नो सुनुवाई नभएपछि हतास भएर शनिबार साँझ करिब ७ बजेतिर मनिषाले माइती घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको थियो । 

यो घटना पछि आइतबार माइती पक्ष र स्थानीयले पानवारीमा प्रर्दशन गरेका थिए । उनीहरुले वडाअध्यक्षमाथि पनि आक्रोश पोखका थिए भने प्रेमी भनिएका बस्नेतको घरमा पनि घेराउ गरेका थिए । पानवारी क्षेत्र दिनभर जसो तनावग्रस्त बन्न पुगेको थियो ।