संखुवासभा: संखुवासभाको मादी नगरपालिका १ मा भएको एकै परिवारको ६ जनाको हत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई थाुनामा राख्न अदालतले आदेश दिएको छ । 

जिल्ला अदालत चैनपुरको आदेश पछि यो हत्याकाण्डमा संलग्न भनिएका ४ जना पुर्पक्षको लागि थुनामा गएका छन् । अदालतले खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । घटनामा संलग्न भएको आरोपमा ५ जना पक्राउ परेपनि नरेश कार्कीको उमेर १७ बर्ष मात्र भएकोले उनलाई बाल सुधार गृह विराटनगर पठाउन अदालतले आदेश दिएको छ । 

गएको भदौ २१ गते बिहानै तेजकुमार कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्न पुगेको प्रहरीले भतिज पर्ने लोकबहादुरलाई पक्राउ गरेको थियो । शुरुमा हत्यामा उनी मात्र संलग्न भएको प्रहरीले बताए पनि निरन्तर अनुसन्धानको क्रममा अन्य ४ जनाको पनि संलग्नता खुलेपछि पक्राउ परेका थिए । मृतक तेजबहादुरसँगको रिसइबीको कारण पाँच जना मिलेर उनको हत्या गर्ने योजना अघिल्लो दिन बनाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।