इलाम: इलामको सुर्योदय नगरपालिकाको फिक्कलमा बिहिबारबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । 

कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भेट्रानहरु बिच हुने प्रतियोगितामा  भारत दार्जिलिङको २ टिम सहित सूर्योदय नगरपालिका भित्रका ४ टिम तथा इलाम नगरपालिका र रोङ गाउँपालिकाको एक÷एक  टिमले सहभागिता जनाउने भएको छ ।

प्रतियोगितामा सुकिया भेट्रान्स दार्जिलिङ, इलाम भेट्रान्स, दार्जिलिङ भेट्रान्स, सूर्योदय भेट्रान्स, भेट्रान्स रोङ–११ आहाले भेट्रान्स, पेम्वा सेभेन र युनाइटेड भेट्रान्सले सहभागिता जनाउनेछ । प्रतियोगिताको पहिलो दिन पहिलो चरणको ४ खेल हुनेछ । प्रतियोगिताको उद्धघाटन खेलमा पाहुना टोली सुकियाले इलाम भेट्रान्सको सामना गर्दैछ । आहाले भेट्रान्सले पेम्वा सेभेन, सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ–११ तथा दार्जिलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सको सामना गर्ने तय भएको छ ।  कान्दुक रिक्रिएन सेन्टरको फूटसल मैदानमा हुने प्रतियोगिताको बिजेताले ३५ हजार ५ र उपबिजेताले १६ हजार ५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

खेलको माध्यमबाट सूर्योदय नगरपालिका र पर्यटन प्रर्वद्धन हुने आयोजक कान्दुक रिक्रिसनका संचालक रुपेन गुरुङले बताए । भेट्रान्सहरुलाई समेत खेलकुदमा प्रेरित गराउनका लागि ४० बर्ष माथिकाहरुलाई सहभागि गराएर प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनले भुटानको टिम समेत सहभागिता गराउने लक्ष्य भएपनि प्राविधिक समस्याका कारण सम्भव नभएको बताए । 

उनले निकट भविष्यमा त्रिदेशीय प्रतियोगिता आयोजनाको गरिने जानकारी दिए । ५१ हजार रुपैया पुरस्कार राशी राखेर प्रतियोगिता संचालन गर्ने लक्ष्य राखिएपनि आर्थिक समस्याका कारण राशी घटाउनुपरेको उनले बताए । यसअघि गत महिना सूर्योदय नगरपालिका स्तरिय फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।