धरान: विद्यालयस्तरदेखि नै आफ्ना विद्यार्थीहरुलाई सेयर कारोबारबारे ज्ञान दिलाउने उद्देश्यले धरान–१२ स्थित सुनाखरी एकेडेमीले शुक्रबार एक कार्यक्रम आयोजना गरेको छ । 

स्कुल पढ्दा नै जीवन उपयोगी शिक्षा र व्यवहारिक ज्ञान दिने उद्देश्यले कक्षा ११ का विद्यार्थीहरुलाई एकेडेमीले सेयर कारोबारसम्बन्धी ज्ञान दिएको हो । सेयर कारोबारबारे ज्ञान हासिल गरेपछि विद्यार्थीहरुले पढाईसँगसँगै आम्दानी पनि गर्न सक्ने भएकोले कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल मिलन राईले जानकारी दिए ।

उनका अनुसार कोर्षमा पनि सेयर अध्ययन गर्नुपर्ने भएको व्यावहारिकरुपमा नै अनुसरण गराउन कार्यक्रम गरिएको हो । 'जीवनमा प्राक्टिल हुनुपर्छ, जीवनपयोगी शिक्षा विद्यार्थीहरुले लिऊन भनेर सेयर मार्केट सम्बन्धी कार्यक्रम गरिएको हो,'उनले भने,'जति पनि कर्मचारी, सर मिस र अभिभावकहरुलाई पनि उपयोगी लागेर आयोजना गरिएको हो ।' सुनाखरीले यो बर्षदेखि कक्षा–११ र १२ मा व्यवस्थापन संकायको अध्यापन शुरु गरेको छ । 

sunakhari

कार्यक्रममा शेयर कारोबार बारे एकेडेमीकै पुर्व विद्यार्थी दिपा लिम्बूले सहजीकरण गरेकी थिइन् । उनले सुनाखरीबाट २०६८ सालमा एसएलसी उर्तीण गरेकी हुन् । विगत ६ बर्षदेखि सेयर कारोबारमा संलग्न लिम्बुले सेयर कारोबार, सेयर कारोबार कसरी गर्ने, यसबाट हुने फाइदालगायतको बारेमा आधारभुत जानकारी गराएकी थिइन् । साथै, सबैले डिम्याट खाता खोलेर सेयर कारोबार गर्न पनि आग्रह गरिन् । उनले धेरै पैसा हुदैमा मात्र सेयर कारोबार गर्नुपर्छ भन्ने सोच गलत भएको पनि बताइन् । उनले स्कुलस्तरबाट नै सुनाखरीले विद्यार्थीहरुलाई सेयरबारे ज्ञान दिएकोमा प्रशंसा पनि गरेकी थिइन् । कार्यक्रममा शिक्षक आनन सुब्बाले पनि सेयर कारोबार र खाता खोल्नेबारे जानकारी गराएका थिए ।