धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक युवकको मृत्युबारे छानबिन गर्न एक समिति गठन गरिएको छ । 

मृतकका बुबा, जिल्ला प्रशासन, हरिनगर र कोशी गाउँपालिकाका अध्यक्षहरुसहितको छलफलमा घटनाबारे छानबिन गर्न समिति गठन गर्ने सहमति भएको हो । सहमति अनुसार छानबिन समितिको संयोजकमा सहायक प्रजिअ महेश पोखरेल छन् । समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्की, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष, इनरुवा वडा नं  का अध्यक्ष, भोक्राहा नरसिंह वडा नं ५ का अध्यक्ष र २ जना मृतकका आफन्त रहनेछन् ।

छानबिन समिति संयोजक एवं सहायक प्रजिअ पोखरेलले छानबिन समिति गठन गर्ने, पोष्टमार्टमको लागि शव लैजाने र क्षतिपूर्तिको लागि गृहमन्त्रालयमा सिफारिश गर्ने सहमति भएको हो । ‘मृतकको बुबाले चित्त बुझाएर आन्दोलन फिर्ता लिन अनुरोध गर्नुभएको छ । उहाँहरुले नै प्रर्दशनकारीलाई क्लियर गराउन खोज्दै हुनुहुन्छ,’पोख्रेलले भने ।

एक युवतीसँग प्रेम विवाह गरेका भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ बर्षीय हकिव मियाँलाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा चलाएको थियो । उनको हिरासतभित्रै पाशो लगाएको अवस्थामा शव भेटिएपछि सुनियोजितरुपमा हत्या भएको भन्दै आफन्तजन तथा स्थानीयले प्रर्दशन गरेका थिए । जिल्ला प्रहरी कार्यालयअघि प्रर्दशनको क्रममा प्रहरीसँग झडपसमेत भएको थियो ।  प्रर्दशनकारीले इनरुवा बजार बन्द गराएका थिए भने पुर्वपश्चिम राजमार्ग पनि अवरुद्ध गरेका थिए ।