धरान: लेउती खोलामा आएको बाढीले सडक बगाएपछि अवरुद्ध बनेको कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड एकतर्फीरुपमा खुलेको छ ।

सडक डिभिजन कार्यालय, प्रहरी, ट्राफिक र नेपाली सेनाको पहलमा बाटो मर्मत गरेर अस्थायीरुपमा एकतर्फी यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रमुख एवं सई सुरेन्द्र खड्काले जानकारी दिए । उनले भने,‘बाटो केही मर्मत भएर एकतर्फीरुपमा सुचारु भएको छ, गाडीहरुलाई हामीले पास गराइरहेका छौ ।’

निरन्तरको बर्षासँगै लेउतीमा आएको बाढीले हिजो करिब ४ बजेतिर कोशी राजमार्ग कटान गरेको थियो । सडक करिब सय मिटर जति कटान गरेर क्षति पुगेपछि यातायात अवरुद्ध भएको थियो ।

leuti-khola-badi1

दुईतर्फी नै यातायात सुचारु गर्न पहल भइरहे पनि एउटा स्काभेटर मेशिन बिग्रिएको सई खड्काले बताए । ‘दुईतर्फी नै यातायात सुचारु गर्न खोला फर्काउनुपर्छ, त्यसको लागि थप एउटा मेशिन आउदैछ । यहाँ ३ वटाले काम गरिरहेको थियो, एउटा बिग्रियो,’उनले भने।

खोलाले कटान गरेर यातायात अवरुद्ध हुँदा हिजोदेखि सयौं सवारी तथा ढुवानीका साधनहरु बाटोमा अलपत्र परेका थिए । कतिपय सवारीहरु बीचैबाट फर्किएका थिए । एकतर्फी बाटो सुचारु भएपछि सवारीको चाप कम हुदै गएको सई खड्काले जानकारी दिए । 

leuti-khola-badi2