धरान: पुर्वाञ्चल ईञ्जिनियरीङ क्याम्पस धरानमा पुष ५ गते सोमबारदेखि चौथो एसेस टेकफेस्ट २०२१ आयोजना हुने भएको छ । 

क्याम्पसको कम्प्युटर इञ्जिनियरिङ विद्यार्थीहरुको संस्था एसोसिएशन अफ कम्प्युटर इञ्जिनियरिङ स्टुडेण्टको आयोजनामा पुष ५ गतेदेखि १३ गतेसम्म टेकफेस्ट हुन लागेको हो । मोफसलका विद्यार्थीहरुलाई सुचना प्रविधिबारे ज्ञान दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सचिव निश्चल भुर्तेलले जानकारी दिए । उनका अनुसार कार्यक्रम क्याम्पस परिसरमा हुने । नौ दिनसम्म आयोजना हुने कार्यक्रम विगतको भन्दा यसपटक वृहत र फरक हुने उनले बताए । ‘पहिला क्याम्पसमा सिमित हुन्थ्यो, यसपाली हाम्रो क्याम्पसबाहिरका विभिन्न कलेजहरुबाट पनि सहभागिता हुनेछ,’उनले भने ।

कार्यक्रममा ९ दिनसम्म वर्कसप, लाइभ कोडिङ, डेबुगिङ, आइडिएथन, गेमफेस्ट, अनलाइन बगलगायत प्रतियोगितात्मक विभिन्न कार्यक्रमहरु आयोजना हुनेछ । आइटि अर्थात सुचना प्रविधिसँग सम्बन्धित यी कार्यक्रममा आमन्त्रण गरिएका विभिन्न क्याम्पसका विद्यार्थीहरुले पनि भाग लिनेछन् । ‘सिक्न चाहने विद्यार्थीहरुको लागि तालिमको पनि आयोजना गरिन्छ,’आयोजक समितिका सदस्य विशाल निरौलाले भने,‘यस्तो कार्यक्रमहरु काठमाण्डौंमा सिमित थियो, त्यसले गर्दा मोफसलका विद्यार्थीहरुको पहुँच थिएन, र धेरै कुरा सिक्न पाएका थिएनन् ।’

कार्यक्रममा विभिन्न स्थान तथा कलेजका विद्यार्थीहरु भेला हुने र आइडियाहरु पनि सेयर हुने भएकोले धेरै फाइदा हुने आयोजकको भनाई छ । तालिममा माइक्रोसफ्टबाट मान्यताप्राप्त काठमाण्डौंका प्रशिक्षक आउने आयोजक समितिका सचिव भुर्तेलले बताए । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भइसकेको पनि उनले बताए ।