धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा र वडाअध्यक्षहरुबीच भएको विवादमा सहमति भएको छ । 

कार्यवाहक मेयर र कांग्रेस, एमालेका संसदीय दलका नेताहरुबीच सोमबार र मंगलबार (आज) निरन्तर भएको छलफलले सहमति जुटाएको हो । यो सहमतिसँगै बुधबार दिउँसो ३ बजे कार्यपालिका बैठक हुने भएको छ भने बिहिबार बिहान ११ बजे नगरसभा हुने कार्यवाहक मेयर बेघाले जानकारी दिएका छन् । 

नरेन्द्र राई (प्रविण) ले मंगलबार कार्यवाहक मेयरसँग भएको छलफलमा सहमति जुटेको र कार्यपालिका, नगरसभा गर्ने सहमति भएको बताए । उनका अनुसार शुक्रबारको विवादको घटनाबारे सोमबार नै समिक्षा भएको थियो । ‘हिजो (सोमबार) छलफलमा बसेका थियौं, त्यो घटनाबारे समिक्षा भयो, र त्यस्तो तरिकाले कोही पनि नजाने समझदारी भयो,’उनले भने ।

विवादको मुख्य जड संकटग्रस्त सहकारी व्यवस्थापनको लागि ५ करोड बजेट र पर्यटनमा न्युन बजेट विनियोजन गरिएकोबारे थियो । त्यसमा सहकारीको लागि ५ करोड नै विनियोजन गर्ने र पर्यटनलाई १ करोड थप गर्ने सहमति जुटेको अध्यक्ष राईले बताए । ‘सहकारीमा ५ करोड नै राख्ने सहमति भएको छ । पर्यटनमा छुट्याएको २१ लाख मध्ये ६ लाख त दायित्व हो, खास बजेट १५ लाख मात्र थियो,’ अध्यक्ष राईले भने,‘तीनकुने सुन्दरबसी विकास आयोजनाको लागि विनियोजन गरिएको अढाई करोडबाट १ करोड पर्यटनमा ल्याउने र आयोजनालाई डेढ करोड राखेर बहुबर्षीय योजनामा लैजाने सहमति भएको छ ।’

 विवाद मिलाउन मेयरको कार्यकक्षमा कार्यवाहक मेयर बेघा, एमाले संसदीय दलका नेतासमेत रहेका वडा नं १५ का अध्यक्ष नरेश इवारम र कांग्रेस संसदीय दलका नेतासमेत रहेका वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)बीच मंगलबार र बिहिबार छलफल भएको थियो । 

गएको शुक्रबार आर्थिक विकास समितिको बजेटमा सहमति जुटाउन बसेको बैठकमा कार्यवाहक मेयर बेघासँग वडा नं.१५ र १८ का अध्यक्षबीचको विवादले न कार्यपालिका बैठक बस्यो, न नगरसभा नै भयो । वडा १८ का अध्यक्षले अश्लिल गालीगलौज गरेको भन्दै कार्यवाहक मेयरले विज्ञप्ती जारी गरेका थिए भने शनिबार वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गर्दै कार्यवाहक मेयरको बालहठ र अमर्यादित व्यवहारले बैठक भाडिएको आरोप लगाएका थिए । असार १० गते नगरसभा गरेर बजेट पेश गर्नुपर्ने र ३० गतेभित्र बजेट पारित गर्नुपर्ने भएपनि साउन तेस्रो साता बितिसक्दा पनि धरान बजेटविहिन छ ।