धरान: धरान उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद खतिवडासहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । 

अख्तियारले धरान १४ स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको जग्गा मिलेमतोमा व्यक्तिको नाममा कायम गराई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टचार गरेको भन्दै बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार खतिवडासँगै तत्कालिन सिंगिया गाविसका अध्यक्ष÷सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालिन प्रमुख अधिकृत सुशिल बैध( हाल अवकाश), तुङ्गनाथ भण्डारी र तत्कालिन नायब सुब्बा केदारबहादुर कार्की (हाल अवकाश), तत्कालिन धरान १४ का वडा सचिव उत्तम आले, मन्दिरका पुजारी टिरु चौधरी,  स्थानीय जग्गा कारोबार गर्ने व्यक्ति पंकज घिमिरे र भागमैन थरुनी विरुद्ध मुद्दा दायर गरेको हो । 

मन्दिरको नाममा रहेको साविक भादगाउँ सिनवारी गाविसका ४ क, कित्ता नं १ मा रहेको ५ कट्ठा ७ धुर र कित्ता नं ४ मा रहेको ४ कट्ठा १८ धुर जग्गालाई गलत प्रतिवेदन दिएर व्यक्तिको नाममा नामसारी दर्ता गरेको उजुरीमा अनुसन्धान पश्चात मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । अख्तियारका अनुसार आपसी मिलेमतो र योजनामा साविक सिंगिया गाविसबाट २०६४ जेठ ८ गते र साविक धरान नगरपालिका वडा १४ कार्यालयबाट २०६४ माघ ९ गते झुट्टा व्यहोराको सर्जमिन मुचुल्का बनाएका थिए । 

यस्तै, गाविसले उक्त व्यहोरासँग मिल्ने गरि नाता प्रमाणित प्रमाणपत्र समेत बनाएर लिएको र धरान नगरपालिकाले मालपोत कार्यालय सुनसरीलाई उक्त जग्गाहरु नरसिंह भगवानको मन्दिरको पुजारी रहेका टिरु चौधरीको नाममा नामसारी गरिदिन सिफारिशसमेत गरेको खुलेको छ । मालपोत कार्यालय सुनसरीले २०६५ जेठ २१ गते नामसारी गर्ने निर्णय गरी धरान १४ स्थित नरसिंह भगवानको नाममा रहेको १० कट्ठा ५ धुर जग्गा आर्थिक बर्ष २०८२/८३ को न्युनम मुल्याकान अनुसार ३६ लाख १० हजार पर्ने जग्गा नक्कली जग्गाधनी खडा गरि टिरु चौधरीको नाममा दर्ता कायम गरेर बिक्री समेत गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ को (ज) वमोजिमको कसुरमा ३६ लाख १० हजार बिगो कायम गरि कैद र बिगोवमोजिम जरिवाना गरी बिगो असुल गर्न माग गरेको छ । साथै, सोही ऐनको दफा १९ को उपदफा (२) एवं दफा ३ वमोजिम सजाय माग पनि गरेको छ । अख्तियारका अनुसार तत्कालिन सिंगिया गाविसका कपिलमणी दाहालले कागजपत्र मिलाउन सहयोग गरेवापत टिरु चौधरीबाट ५ हजार घुस समेत लिएका थिए । भागमैन थरुनीको हकमा भने उनको नाममा दर्ता कायम गरी भोगचलन गर्दै आएको जग्गा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ वमोजिम सार्वजनिक सम्पत्ति निजबाट जफत गरी पुनः मन्दिरको नाममा ल्याउन अख्तियारले मागदाबी गरेको छ ।