धरान: धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८३/०८४ को लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट ल्याएको छ ।
लामो रस्साकस्सी, विवाद र असहमतिले गर्दा समयमा बजेट ल्याउन नसकेको धरानमा आज बिहिबार आयोजित नगरसभामा कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए । भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम र बजेटलाई नगरसभाले अनुमोदनसमेत गरेको छ ।
बजेटमा २० वटा वडाको लागि भुक्तानी दिन बाँकीसमेत गरेर कुल २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ भने शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख विनियोजना गरिएको छ । जसमा खाल्डाखुल्डीमुक्ता नगर बनाउने कार्यक्रमको लागि ४ करोड, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणको लागि १ करोड, प्रदेश सरकारको समपुरक अनुदानसमेतबाट धरानको सभागृह निर्माणको लागि २ करोड रहेको छ ।
यस्तै, स्वास्थ्यतर्फ १२ करोड ४५ लाख रुपैयाँ, सशर्त अनुदानबाट ९ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि २ करोड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने सामाजिक विकासमा आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ विनियोजन गरिएको छ । सुकुम्वासी व्यवस्थापनमा ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोष २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रणमा १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कारका साझेदारीमा १० लाख, लैंगिक समानता र समावेशीकरण कार्यक्रममा १ करोड ५ लाख बजेट विनियोजन गरिएको छ ।
आर्थिक विकासतर्फ ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये संकटग्रस्त सहकारी व्यवस्थापनका लागि ५ करोड रुपैयाँ पनि रहेको छ । वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । विपद् व्यवस्थापन कोषका लागि २ करोड रुपैयाँ छुटाइएको छ । धरानको खानेपानी चतरास्थित कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि ३ करोड ११ लाख रुपैयाँ आन्तरिक स्रोतबाट विनियोजन गरिएको छ ।
आन्तरिक राजश्व १ अर्ब ४० करोड !
धरानको बजेटमा आयतर्फ आन्तरिक राजश्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार अनुमान गरिएको छ भने संघीय सरकार अनुदानबाट ८६ करोड १९ लाख, प्रदेश सरकार अनुदानबाट ९ करोड १६ लाख ४८ हजार, राजश्व बाँडफाटबाट ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्ड नेपालबाट १ करोड र गत बर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
गत आर्थिक बर्ष २०८२/०८३ को बजेटको समिक्षा हेर्ने हो भने गत बर्षको मात्र होइन, यो आर्थिक बर्ष २०८३/०८४ को बजेटमा पनि आन्तरिक राजश्व (आय)तर्फ अस्वभाविक अनुमान गरिएको देखिन्छ । गत आर्थिक बर्षको बजेटमा आन्तरिक राजश्वतर्फ ८९ करोड ५३ लाख ६५ हजार अनुमान गरिएको थियो । तर, असार मसान्तसम्म आन्तरिक स्रोतबाट ४१ करोड ९८ लाख ६४ हजार २२५ रुपैया मात्र प्राप्त भएको थियो । यो रकम अनुमानको ४६.९८ प्रतिशत मात्र हो ।







