धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको खुलेको छ ।

अदालतको अपहेलना गरेको भन्दै नवराज विष्टले संयुक्त संघर्ष समितिका संयोजक डा.सूर्यप्रसाद रिमालसहित आन्दोलनकारीहरुलाई विपक्षी बनाउदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । उक्त मुद्दाको सुनुवाई गर्दै बुधबार सर्वोच्चले विपक्षीहरुलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ । 

सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले बुधबार यस्तो आदेश गरेको हो । निवेदककोतर्फबाट अधिवक्त रेणुकादेवी सिटौलाले बहस गरेपछि न्यायधिश केसीको इजलाशले निवेदकको माग वमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सवुद प्रमाणसहित म्याद सुचना पाएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र लिखित जवाफसहित आफै उपस्थित हुन आदेश जारी गरेको छ ।

यसअघि निवेदक विष्टले नै सर्वोच्चमा वीपी प्रतिष्ठानमा भएको तालाबन्दी खुलाउन माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि पनि सुनुवाई गर्दै सर्वोच्चले ताला खुलाउन र अस्पताल जस्तो अत्यावश्यक संस्थामा धर्ना, हडताललगायत नगर्न पनि आदेश दिएको थियो । सोही आदेश कार्यान्वयन गराउने क्रममा प्रहरीले ताला तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडपसमेत भएको थियो । सोही घटनापछि विष्टले नै पुनः अदालतको अवहेलना गरेको भन्दै अर्को रिट दायर गरेको बताइएको छ । 

यता, संयुक्त संघर्ष समितिका संयोजक डा.रिमालले भने अदालतको अवहेलना गरेको मुद्दाबारे आफुहरुलाई थाह नभएको प्रतिक्रिया दिए । उनले भने,‘अवहेलनाको मुद्दाबारे थाह छैन । ताला खुलाउने आदेश आएको मात्र थाह छ ।’

Letter-of-Supreme-Court.