धरान: स्थानीय सरकारले निर्धारण गरेको शुल्क विपरीत वृद्धि गरेको भन्दै आलोचना खेपिरहेको धरान ९ स्थित विष्णु मेमोरियल स्कुललाई विद्यार्थी संगठनहरुले अल्टिमेटम दिएका छन् ।

विभिन्न ५ वटा विद्यार्थी संगठनहरुले आइतबार संयुक्तरुपमा विष्णु स्कुल पुगेर सञ्चालकलाई अल्टिमेटम पत्र बुझाएका छन् । विद्यार्थी संगठनका प्रतिनिधिहरुले विष्णु स्कुलको सञ्चालक बनिन्द्र कटवाललाई भेटेर अल्टिमेटम बुझाएका थिए । उनीहरुले अल्टिमेटम समयभित्र उपमहानगरपालिकाले गरेको निर्णयविपरीत वृद्धि गरेको शुल्क सच्याउन माग गरेका छन् । अनुरोध र उपमहानगरको निर्णय अवज्ञा भएमा कडा कदम उठाउन बाध्य हुने पनि विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।

नेपाल विद्यार्थी संघका प्रतिनिधि दोर्ची शेर्पाले विष्णु स्कुलका सञ्चालक कटवालसँगको भेटमा पनि ४८ घण्टाभित्र स्कुलले वृद्धि गरेको शुल्क घटाउन आग्रह गरिएको बताए । उनले भने,‘९० प्रतिशत विद्यार्थीका अभिभावकसँग शुल्क लिइसकेको रहेछ, १०३ जना विद्यार्थीका अभिभावकले मात्र शुल्क वृद्धिको विरोध गरेकोले उनीहरुसँग लिन बाँकी रहेछ ।’

विद्यार्थी संगठनका प्रतिनिधिहरुले बढाएर लिएको शुल्क फिर्ता गर्न वा समायोजन गर्न सञ्चालक कटवाललाई अल्टिमेटम दिइएको पनि शेर्पाले बताए । ‘विद्यालयका सञ्चाकल वेनिन्द्र कटवालसँग भेट भयो, उहाँलाई अल्टिमेटम पत्र पनि दियौ, र शुल्क घटाउन पनि आग्रह गर्यौ,’शेर्पाले भने ।

सञ्चालक कटवालले आफ्नो स्कुललाई मात्र नभै सबै स्कुललाई घटाउन लगाउनुपर्ने धारणा राखेको पनि शेर्पाले जानकारी दिए । सबै विद्यालयले घटाएमा आफुले पनि घटाउने प्रतिक्रिया दिएको शेर्पाले बताए । ‘सबैले घटाएमा म पनि घटाउछुँ, अरुलाई पनि भन्नुपर्यो भन्नु भयो । शिक्षक कर्मचारीहरुको तलब बढाउनु परेकोले ४ बर्ष पछि मात्र शुल्क बढाएको हो भन्नु भयो,’सञ्चालक कटवालको भनाई उदृत गर्दै विद्यार्थी नेता शेर्पाले भने ।

bisnu-altimatum