धरान: होटल एशोसिएशन भेडेटारले नवौं फुड फेस्टिवल आयोजना गर्दै गर्दा भारतीय पर्यटकहरु आउलान् कि नआउलान् ? भन्ने आशंका थियो । शुक्रबार फेस्टिवलको उद्घाटन हुदै गर्दा आन्तरिक मात्र होइन, भारतीय पर्यटकहरु पनि आउन शुरु गरे ।

अंग्रेजी नयाँ बर्ष २०२२ को पहिलो दिन शनिबार भेडेटारमा पर्यटकहरुको भीड थामिनसक्नु भयो, त्यसमा पनि भारतीय पर्यटकहरुको उल्लेख्य संख्या भएपछि आयोजक एशोसिएशन र भेडेटारका व्यवसायीहरु हर्षित छन् । विगतको २ बर्ष कोभिड महामारीले थला परेका पर्यटन व्यवसायीहरु फेस्टिवलसँगै पुरानै गतिमा पर्यटन उठ्नेमा आशावादी छन् ।

vedetar9

होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली शनिबार मात्रै १० हजारको हाराहारीमा पर्यटकहरु भेडेटार घुम्न आएको अनुमान गर्छन् । त्यसमा भारतीय पर्यटकहरुको संख्या पनि राम्रो भएको उनले बताए । ‘आज ८, १० हजार पर्यटकहरु भेडेटारमा नयाँ बर्ष मनाउन आए, भारतीय पर्यटकहरु पनि राम्रो संख्यामा छन्,’उनले भने,‘हिजो शुक्रबारदेखि नै भेडेटारका होटल, लजहरु प्याक नै छन् ।’

vedetar8

शनिबार दिनभर जसो भेडेटार क्षेत्रमा ट्राफिक जाम रह्यो । स्वदेशी तथा विदेशी पर्यटकहरु गाडीसहित भेडेटार पुगेको कारण जाम भएको थियो । साँझ तिर पर्यटकहरु फर्कन थालेपछि मात्र सहज भएको ट्राफिक इञ्चार्ज राजन श्रेष्ठले जानकारी दिए । उनले भने,‘साँझतिर फर्कन थालेपछि सहज भयो ।’ भेडेटारमा व्यवस्थित पार्किङको अभावले पनि समस्या हुने गरेको छ ।

भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको छ । फेस्टिवलमा आउने पर्यटकहरुलाई होटल तथा लजहरुले १० प्रतिशत छुट दिएका छन् भने जिपलाइनमा १५ प्रतिशत र प्याराग्लाइडिङमा ३० प्रतिशत छुट दिएका छन् । तीन दिने फेस्टिवलमा २० देखि ३० हजार पर्यटकहरु भेडेटार घुम्न आउने र १ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

vedetar6

vedetar7