धरान: धरानमा जारी २२ औं संस्करणको गोधुली टुबोर्ग फुटबल रनिङ कपमा वडा नं १६ र वडा १३ पनि क्वार्टरफाइनल प्रवेश गरेको छ। 

धरान १६ स्थित रंगशालामा बिहिबार भएको खेलमा जित हात पार्दे वडा नं १६ र वडा नं १३ क्वाटर फाइनल प्रवेश गरेको हो । दुवै वडा विजयी भएसँगै क्वार्टरफाइनलको समीकरण पनि पुरा भएको आयोजक गोधुली क्लबले जनाएको छ । प्रतियोगितामा यसअघि धरानको वडा नं. १५, १४, १९, ८, १८ र ११ क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन् ।

बिहिबार पहिलो खेलमा वडा नं. १६ ले वडा नं. ७ लाई ४–० गोल अन्तरले हरायो । वडा १६ को जितमा सरोज लकान्द्रीले २ गोल गरे भने प्रदीप लिम्बू र जलान तुम्बापोले एक एक गोल गरे । खेलको म्यान अफ द म्याच १६ नं. वडाका जमिन लिम्बू घोषित हुँदै नगद १५ सय पुरस्कार हात पारे ।

दोस्रो खेलमा वडा नं १३ ले वडा नं ६ लाई सडनडेथमा हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुवै टिमको ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथबाट छिनोफानो भएको हो । सडन डेथमा वडा नं १३ का विवेक राईले गोल गर्दा वडा नं ६ का नबिन विश्वकर्मा चुकेका थिए । 

निर्धारित समयको खेलमा वडा नं ६ वडाका समिर लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेल सकिन ३ मिनेट बाँकी रहदा वडा नं १३ का अशोक कटवालले बराबरी गोल गरेका थिए । टाइब्रेकरमा वडा नं ६ का अजय बिष्ट, गोविन्द्र कार्की, समिर लिम्बू र अर्जुन लिम्बूले गोल गरेका थिए भने अमित योञ्जनको प्रहार वडा १३ का गोलकिपरले असफल बनाए । यस्तै, वडा १३ का विवेक राई, मिलन लिम्बू, अकोश कटवाल र मन्दिप राईले टाइब्रेकरमा गोल गरे भने निश्चल श्रेष्ठको प्रहार वडा ६ का गोल किपरले रोकेका थिए। 

क्वाटर फाइनलको ४ वटै खेल शुक्रबार हुनेछ आयोजक गोधुली क्लबले जनाएको छ । पहिलो क्वाटर फाइनल खेल वडा १४ र १५ बीच विहान ८ बजे हुनेछ भने दोस्रो खेलमा वडा नं. ८ र १८ बीच बिहान ११ बजे, तेस्रो खेलमा वडा नं. १६ र १९ बीच दिउँसो १ बजे हुनेछ । अन्तिम खेलमा वडा नं. १३ र ११ बीच दिउसो ३ बजे हुने आयोजकले जनाएको छ ।