धरान: सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा मंगलबार भएको आगजनी र तोडफोडको घटनाबारे जिल्ला प्रशासन कार्यालय सुनसरीले छानबिन समिति गठन गरेको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी छन् ।

समितिलाई सत्यतथ्य छानबिन गरि ५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ । साथै, जिल्ला प्रहरी कार्यालय सुनसरीले उक्त घटनाको अनुसन्धान गरी दोषी पहिचान गरेर कारबाही प्रक्रिया अघि बढाउने पनि प्रशासनले जनाएको छ । प्रजिअ यादवका अनुसार गाउँपालिकाको सिफरिशमा बर्जु सामुदायिक विकास केन्द्रलाई जिल्ला सुरक्षा समितिले निर्णय गरि आवश्यक मापदण्ड पुरा गर्ने सर्तमा महोत्सवको अनुमति दिएको थियो । 

barju1

सिसिएमसिको कोरोना प्रोटोकल पालनाबारे गृहमन्त्रालयबाट निर्देशन आएपछि पुष २७ गते डिसिएमसिले पनि निर्णय गरि प्रजिअबाट आदेश जारी भएको र २८ गते सबै पालिकाहरुलाई कार्यान्वयन गर्न पुनः पत्राचार पनि गरिएको प्रजिअ यादवको भनाई छ । माघ २ गते पुनः प्रशासनले गाउँपालिकालाई महोत्सव सञ्चालनको अनुमति आजैबाट खारेज गरिएकोले तत्काल रोक्न पत्राचार गरिएको पनि जिल्ला प्रशासनले जनाएको छ ।

तरपनि आयोजकले महोत्सव बन्द गर्ने निर्णय नगरि विहारका कलाकार खेसरीलाल यादवलाई निमन्त्रणा गरेको र ती कलाकार विभिन्न कारणले महोत्सवमा उपस्थित हुन नसकेको प्रतिक्रिया स्वरुप उत्तेजित भिडले तोडफोड आगजनी गरेको घटनाको पनि प्रशासनले भत्र्सना गरेको छ ।

barju2