धरान: वैदेशिक रोजगारीमा साउदी गएका दमक नगरपालिका ४ वेतनीका गणेश राईलाई युके र कोरियाबाट आर्थिक सहयोग भएको छ । 

उनलाई थुम पौवा समाज युके, डोन्क्यास्टर नेपाली समुदाय युके, कन्टेब्ररी नेपाली समुदाय युके र कोरिया नेपाली समाज कोरियाबाट आर्थिक सहयोग भएको हो । उक्त सहयोग रकम आइतबार क्यान्सर पीडित राईको घरमा पुगेर हस्तान्तरण गरिएको थियो । युके र कोरियाबाट प्राप्त सहयोग ५ लाख ५२ हजार ५०६ रुपैया क्यान्सर पीडित राईलाई संविधानसभाका सदस्य एवं सभासद किरण राईले हस्तान्तरण गरेका थिए । उनले सुनबर्षी गाउँपालिका मोरङकी उपप्रमुख मञ्जु राई, आफन्तसमेत रहेकी पेट्रोलियम डिलर्स एशोसिएशनकी केन्द्रीय सदस्य एवं क्लिकधरान मिडिया प्रालिकी प्रबन्ध निर्देशक सुनिता केसी राईको उपस्थितिमा हस्तान्तरण गरेका थिए । 

help1

सहयोगको लागि धरान निवासी आफन्त महेश्वर राईले कोरिया र युकेमा समन्वय गरेका थिए । आइतबार रकम हस्तान्तरण पनि उनकै समन्वयमा भएको थियो । राईका अनुसार युकेमा रकम संकलनको संयोजन दिनेश राई, उपेन्द्र राई र अमरबहादुर राईले गरेका थिए भने कोरियामा पञ्चमान राईले गरेका थिए । कन्टेब्ररी नेपाली समुदाय युकेबाट निलम राईको बिशेष सक्रियतामा पनि रकम संकलन भएको थियो । क्यान्सर पीडित राईको पुख्यौली घर भोजपुरको थुम पौवा हो । हाल विदेशमा बसोबास गरिरहेका थुम पौवाबासी,आफन्तजन तथा नेपालीहरुले सहयोग गरेको समन्वयकर्ता महेश्वर राईले जानकारी दिए । युकेबाट विगतमा समस्यामा परेका आफन्त एवं थुम पौवाबासीहरुलाई सहयोग पठाएको उनले बताए । 

क्यान्सर पीडित ५३ बर्षीय राई वैदेशिक रोजगारीमा साउदी गएका थिए । ठुलो आन्द्रामा क्यान्सर भएपछि उनी घर फिरेका थिए । उनलाई करिब ६ महिना अघि मात्र क्यान्सर भएको पत्ता लागेको थियो । उनको श्रीमति र एक छोरा छन् । 

help uk-korea