धरान: मोरङको धनपालथान गाउँपािलका ७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको २ जना र ललितपुरको गोदावरी १२ चरङ्गखेलमा भेटिएको शव हत्या गरि गाडेको आरोपमा उनीहरुकै व्यवसायिक साझेदारसहित ३ जना पक्राउ परेका छन् ।

प्रहरीले माघ १२ र १३ गते धनपालथान ७ स्थित दिलिप सिंहको उखुबारीमा अलग अलग खाल्डोमा २ जनाको शव फेला परेको थियो । पहिलो शव सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ४ का ३२ बर्षीय शम्भुकुमार चौधरीको थियो भने दोस्रो शव धरान उपमहानगरपालिका ३ घर भई हाल ललितपुर बस्दै आएका ४८ बर्षीय राजेन्द्रकुमार श्रेष्ठको थियो ।

यस्तै, हिजो (माघ २० गते) प्रहरीले पुनः ललितपुरको गोदावारी नगरपालिका १२ ठेचो चरंगखेलस्थित गोदाम घर रहेको कम्पाउण्ड क्षेत्रमा तेह्रथुमको संक्रान्ति २ घर भई हाल काठमण्डौं ८ गोठाटार बस्दै आएका ६३ बर्षीय मोहन लिम्बुको पनि शव फेला पारेको थियो । 

तीन जनाको हत्यामा संलग्न रहेका सिरहा नगरपालिका २१ स्थायी घर भई हाल काठमाण्डौं बल्खु बस्दै आएका अनिलकुमार मण्डल र उनका दुई सहयोगी मोरङ जहदा गाउँपालिका ४ स्विनीका २९ बर्षीय अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान ७ कमलपुर पश्चिम टोलका ६२ बर्षीय नासिर आमललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनालाई मोरङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

पक्राउ परेका ३ जना मध्ये अनिलकुमार मण्डल हत्याका मुख्य योजनाकार हुन् । उनी मृतक ३ जनाको व्यवसायिक साझेदार हुन् । उनले अन्यको सहयोग लिएर ३ जनाको हत्या गरेको खुलेको छ । मण्डलले हत्यामा भारतीय नागरिकहरुलाई पनि प्रयोग गरेको बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

विराटनगर आउनुअघि नै मोहन लिम्बुको हत्या

मोरङ प्रहरी प्रमुख एवं एसपी जनार्दन जिसिका अनुसार व्यवसायिक कामको शिलशिलामा मृतक राजेन्द्रकुमार श्रेष्ठ, शम्भुकुमार चौधरी र पक्राउ परेका अनिलकुमार मण्डल गत मंसिर २८ गते विराटनगर आएका थिए । उनीहरु विराटनगर आउनु पुर्वनै ललितपुरको गोदावरीमा ६३ बर्षीय मोहन लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ । लिम्बुको हत्या पश्चात भोलीपल्ट ३ जना विराटनगर आएको अनुसन्धानबाट खुलेको छ ।

विराटनगर आएपछि २ दिनको अन्तरमा राजेन्द्र र शम्भुको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । मोरङ प्रहरीका अनुसार राजेन्द्रको हत्या पुष ५ गते भएको थियो भने शम्भुको हत्या पुष ७ गते भएको थियो । हत्या गरिएको स्थान शव गाडेको खाल्डोभन्दा करिब १०० मिटर उत्तर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई डोरी तथा गाम्छाले घाटीमा कसेर हत्या गरेको र मृत्यु पश्चात खाल्डोमा गाडेका थिए । खाल्डो खन्न र पुर्न खन्तीर कोदालो प्रयोग गरिएको थियो भने शरीर गलाउन नुनको पनि प्रयोग भएको प्रहरीले जनाएको छ । 

कारोबार रकम एकलौटी बनाउन हत्या

मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठका अनुसार कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले तीन जनाको हत्या गरिएको हो । घरजग्गा व्यवसाय, सिमेन्ट, हाइड्रोलगायतमा उनीहरुको लगानी रहेको थियो । कमाई राम्रो हुदै गएपछि कारोबारको रकम एकलौटी कब्जा गर्न मण्डलले योजनावद्धरुपमा ३ जनाको हत्या गरेको हो ।