धरान: मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा हत्या गरि शव गाडेको घटनामा संलग्न रही फरार रहेका थप २ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोलाका ३३ बर्षीय मेहमद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिका ६ जिरोगौवाका १८ बर्षीय मोहमद हकिम रहेका छन् । उनीहरुलाई हिजो पक्राउ गरिएको र थप अनुसन्धान कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ । 

धनपालथान ७ स्थित उखुबारीमा माघ १२ गते र १३ गते दुई वटा अलग अलग खाल्डोमा हत्या गरि गाडेको अवस्थामा २ वटा शव फेला परेको थियो । प्रहरीका अनुसार पहिलो दिन सप्तरीको शम्भुनाथ नगरपालिका ४ का ३२ बर्षीय शम्भुकुमार चौधरी र दोस्रो दिन धरान ३ घर भई हाल भक्तपुर लोकन्थली बस्दै आएका ४८ बर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो । 

सोही घटनामा अनुसन्धान गर्दै जादा प्रहरीले ललितपुरको गोदावरीमा ६३ बर्षीय मोहन लिम्बुको पनि शव गाडेको अवस्थामा भेटिएको थियो । मोरङ प्रहरीले हिजो पत्रकार सम्मेलन गर्दै हत्याका मुख्य योजनाकार अनिलकुमार मण्डलसहित ३ जनालाई सार्वजनिक गरेको थियो । जग्गा कारोबार, हाइड्रोलगायतको कारोबारको कमिशन हत्याउन मण्डलले आफ्नै व्यवसायिक साझेदारहरु शम्भुकुमार, राजेन्द्रकुमार र मोहनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।