धरान: जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको शवको बाँकी भाग खोजी गर्ने क्रममा प्रहरीले फेला पारेको छ । 

हिजो टाउको र खुट्टा भेटिएको ठाउँ धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा आज पनि झोलाभित्र नै शरीरको विभिन्न भागहरु भेटिएको प्रहरीले जनाएको छ । संघीय प्रहरी ईकाई कार्यालय धरानका एसपी भीम दाहालका अनुसार हिजो झोला भेटिएको ठाउँदेखि करिब एक किलोमिटर उत्तर क्षेत्रमा झोला भित्र नै बाँकी पार्टहरु भेटिएको हो । उनले भने, 'हिजो भेटिएकोदेखि एक किलोमिटर मास्तिर भेटिएको छ, त्यो हिजोकै बडी पार्ट हो ।' 

एसपी दाहालका अनुसार शव पुरुषको हो । हत्या गरेर नै फालिएको उनले बताए । 'नर्मल हिसाबले मरेको व्यक्तिको टाउको, खुट्टा, बडी पार्टलाई छुट्टै राखेर लुकाउने, डिस्पोज गर्ने हिसाबले ठाउँ ठाउँमा देखिन्छ । यो हत्या गरेकै हो,'एसपी दाहालले भने । हिजो दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि जेब्रा झोलामा टाउको र खुट्टा भेटेका थिए । उक्त शवको शरीर भने भेटिएको थिएन । आज पुनः खोजी गर्ने क्रममा बाँकी शरीरका अन्य भागहरु भेटिएको हो ।