धरान: गत बर्ष माघ २० गते धरान १८ का रेवतीरमण राई र सुजाता राईको जीवनमा अकल्पनीय ब्रजपात भयो । दुवैको एक मात्र छोरा रेवाहाङले अप्रत्यासित देहत्याग गरे । 

रेवाहाङको असामाहिक निधनले परिवारजन, आफन्त र साथीभाई मात्र होइन, धरानको बास्केटवल खेल जगत पनि स्तब्ध भयो । रेवाहाङ मात्र १७ बर्षका थिए । उनी डिपोट स्कुलमा कक्षा १० मा अध्ययनरत थिए । उनी पढाईमा मात्र होइन, बास्केटवल खेलमा पनि समर्पित थिए । उनको अप्रत्यासित निधनले बास्केटवलका एक उदयीमान खेलाडी धरानले गुमायो । 

अहिले तिनै रेवाहाङको स्मृतिलाई चिरस्मरणीय बनाइराख्न उनका अभिभावक बुबा रेवतीरमण र आमा सुजाताले धरानमा बर्षेनी बास्केटवल प्रतियोगिता आयोजना गर्ने भएका छन् । यसको लागि उनीहरुले रेवाहाङ रुछेन्बुङ राई मेमोरियल अक्षय कोष पनि स्थापना गरेका छन् । प्रतियोगिता आयोजनाको लागि अक्षय कोष स्थापना गर्न शुक्रबार अभिभावक, धरान बास्केटवल संघ र धरान मेघा कलेजबीच त्रिपक्षीय सम्झौतासमेत भएको छ । अक्षय कोषको लागि रेवाहाङका अभिभावकले संघलाई नगद २ लाखको चेकसमेत हस्तान्तरण गरेका छन् ।

rewahang1

धरान १२ स्थित कफी पब एण्ड रेष्टोमा आयोजित कार्यक्रममा अभिभावकतर्फबाट रेवतीरमण, मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु र संघका अध्यक्ष सुरज लामाले सम्झौता पत्रमा हस्तान्तरण गरेका थिए । सम्झौता पत्रमा प्रतियोगिताको नाम धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिता हुने उल्लेख छ । प्रतियोगिताको आयोजना मेघा कलेजले गर्नेछ भने संयोजन धरान बास्केटवल संघले गर्नेछ । 

यस्तै, अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम, आयोजकबाट प्राप्त हुने रकम तथा आयोजक, संयोजक र दाता अभिभावकबीच समन्वय गरेर प्रतियोगिताको लागि आवश्यक बजेट जुटाइनेछ । बार्षिकरुपमा हुने प्रतियोगिता धरान मेघा कलेजको कोर्टमा हुने पनि सम्झौता पत्रमा उल्लेख छ । 

कार्यक्रममा मन्तव्य व्यक्त गर्दे रेवाहाङका बुबा रेवतीरमणले आफुहरुले छोरा गुमाए पनि उनी जस्तै खेलाडी बन्ने सपना बोकेका अन्यलाई मद्दत पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न अक्षयकोष स्थापना गरेको बताए । उनले आगामी बर्षहरुमा पनि अक्षय कोष वृद्धिको लागि थप सहयोग गर्ने पनि बताए । उनले बास्केटवल खेलको विकासमा टेवा पुग्ने अपेक्षा पनि राखे ।

rewa

जिल्ला बास्केवटल संघका अध्यक्ष नारायण सुवेदीले रेवाहाङ उदयीमान खेलाडी भएको स्मरण गर्दै कलिलै उमेरमा गुमाउनु पर्दा खेल क्षेत्रले धेरै क्षति भएको बताए । धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले सफल खेलाडी हुने सपना बोकेका रेवाहाङ भौतिकरुपमा नभए पनि उनीजस्तै अन्य खेलाडीहरु उत्पादन गरेर पुरा हुने धारणा राखे । कोषलाई बढाउन कलेजले पनि सहयोग गर्ने पनि उनले बताए । 

धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले छोराको स्मृतिमा अक्षय कोष स्थापना गरेर उदाहरणीय कार्य गरेको भन्दै बास्केटवलबाट आफ्नो र राष्ट्रलाई चिनाउने रेवाहाङको सपना अरु खेलाडीहरुले पुरा गर्ने बताए । उनले प्रतियोगिताबाट बचेको रकमले अक्षय कोष बढाउदै लैजाने पनि बताए । 

संघका अनुसार यही चैत महिनाभित्र प्रतियोगिता आयोजना गर्ने तयारी हुनेछ । प्रतियोगिता धरानभित्र र बाहिरका पनि विद्यालय सहभागी गराउन प्रयास हुने बास्केटवल प्रशिक्षक विकास चाम्लिङले बताए ।


rewahang2


rewahang3