धरान: बिहिबार राती अचानक घरमा आगलागी भएर विचल्ली भएको धरान वडा नं ११ का एक परिवारलाई स्थानीयबासीले बस्नको लागि अस्थायी टहरा बनाइदिएका छन् । 

घरका सबै जना बिहेमा गएको बेला राती करिब पौने ८ बजेतिर शान्ति तामाङको घरमा आगलागी भएको थियो । उक्त घर धरान १७ र ११ को सिमा क्षेत्रमा भएपनि भुगोल वडा ११ मा पर्छ । काठको घर भएकोले आगलागी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको थियो । धरानको २ वटा दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएपछि घरको सबै सम्पत्ति जलेर खरानी भएको छ ।

आगलागीमा घरसँगै जलेर सुनचादी, नगद, लत्ताकपडा, खाद्यान्न तथा अन्य भौतिक सामानहरु नष्ट भएको थियो । पीडित परिवारसँग विवाहमा जादा लगाएको एकसरो कपडाबाहेक केही पनि नभएको स्थानीय एवं उद्योगी सिताराम त्रितालले जानकारी दिए । उनका अनुसार स्थानीयबासीले पीडित परिवारलाई बस्नको लागि बाँसको अस्थायी टहरा बनाइदिएका छन् । पीडितको घर जलेको जग्गासँगै उत्तरतर्फ रहेको छिमेकीको खाली जग्गामा तत्कालको लागि अस्थायी टहरा निर्माण गरिएको त्रितालले जानकारी दिए ।

agalagi-house1

उक्त टहराको लागि २ बण्डल जस्ता पाता वडा नं ११ ले सहयोग गरेको वडाअध्यक्ष बाबुलाल लामाले जानकारी दिए । उनका अनुसार पीडित परिवारलाई वडा कार्यालयको तर्फबाट ५० किलो चामल, ४ किलो दाल, न्युटेला, तेल, साबुनलगायत आवश्यक खाद्यान्न सामग्रीहरु पनि दिइएको छ । यस्तै, क्षतिको प्रहरीमार्फत सर्जमिन मुचुल्का गरिएको पनि उनले बताए । घर बनाउन आवश्यक पर्ने काठ उपलब्ध गराउन आइतबार सिडिओ कार्याल र वन कार्यालयमा पनि पत्राचार गरिने उनले बताए । क्षतिपूर्तिको लागि उपमहानगरपालिकामा पनि आग्रह गरिने अध्यक्ष लामाले बताए । 

वडा १७ बाट पनि २० हजार नगद सहयोग

वडा नं १७ ले पनि पीडित परिवारलाई शुक्रबार २० हजार नगद सहयोग गरेको छ । वडा सदस्य सुवास वर्देवाका अनुसार तत्काल राहतको लागि वडाले सहयोग गरेको हो । यस्तै, व्यवसायी विकास श्रेष्ठले उपलब्ध गराएको ५० किलोको एक बोरा चालम, २ लिटर तेल, ३ केजी दाल, २ पोका नुनलगायत खाद्यान्न पनि वडा कार्यालयमार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

घर पुर्ननिर्माण गर्न अभियान

agalagi-house3

पीडित परिवारको घर पुर्ननिर्माण गर्न स्थानीयले आर्थिक सहयोग संकलन गर्ने अभियान पनि थालेका छन् । यसको लागि उनीहरुले धरान १७ रेल्वेस्थित आपसी वचत तथा ऋण सहकारी संस्थामा खाता खालेका छन् । सहयोगी दाताहरुले दिने रकम जम्मा गर्ने गरि खाता खोलिएको जानकारी वडा सदस्य वर्देवाले दिए ।