धरान: कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा झोला भित्र फेला परेको शव झापाको दमक नगरपालिका ५ का दिनेश सिग्देलको भएको खुलेको छ । 

यद्यपी, प्रहरीले विस्तृत जानकारी भने गराएको छैन । सुनसरीका जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुुसार उक्त शव ४३ बर्षीय दिनेश सिग्देल हुन् । एसपी थापाले भने,‘अनुसन्धानको क्रममा केही व्यक्ति समातेका छौ, कन्फर्म गर्न बाँकी छ ।’

एसपी थापाका अनुसार पक्राउ परेकाहरुले वयान फरिरहेका छन् । तथापी प्रमाणले च्याप्दै लगेको पनि उनले बताए । ‘दुई तीन थरी कुरा छ, तर प्रमाणले च्याप्दै लगेका छौ,’उनले भने । अनुसन्धान सकेर आजै पत्रकार सम्मेलन गर्ने पनि उनले बताए । 

गएको बुधबार र बिहिबार धरान ४ को आपगाँछी क्षेत्र जंगलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको थियो । उक्त घटनामा संघीय प्रहरी ईकाई कार्यालय, इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको थियो । शवको सनाखत हुन नसक्दा प्रहरीले स्केचसमेत तयार गरेर सार्वजनिक गरेको थियो ।