धरान: कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा झोला भित्र फेला परेको शवको सनाखत भएको छ । 

प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न पनि पक्राउ परिसकेका छन् । घटनाबारे विस्तृत जानकारी गराउन ईलाका प्रहरी कार्यालय धरानले आजै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । संघीय प्रहरी कार्यालयका एसपी भीम दाहालले भने,‘केस सल्भ भइसक्यो । सनाखत भएर मान्छे पनि पक्राउ परिसकेको छ । पारिवारिकलगायत कारणले हत्या भएको देखिन्छ ।’

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले पनि उक्त घटनाबारे पत्रकार सम्मेलन गर्ने सम्भावना रहेको बताए । उनले भने,'पत्रकार सम्मेलन हुने सम्भावना छ, हामी तपाईहरुलाई खबर गर्छौ, र डिटेल दिन्छौ ।' 

गएको बुधबार र बिहिबार धरान ४ को आपगाँछी क्षेत्र जंगलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको थियो । उक्त घटनामा संघीय प्रहरी ईकाई कार्यालय, इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको थियो । शवको सनाखत हुन नसक्दा प्रहरीले स्केचसमेत तयार गरेर सार्वजनिक गरेको थियो ।