धरान: मोरङको लेटाङमा हत्या गरिएकी बालिकाको शव पोष्टमार्टम गर्न धरान ल्याइएको छ । 

दुई दिनअघि बुधबारट हराइरहेकी लेटाङ ८ जाते ज्यामिरे घर भएकी ११ बर्षीय करुणा राईको शव आज बिहान खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । उनको बलात्कार पछि हत्या गरिएको हुनसक्ने आशंका छ । शव भेटिएपछि स्थानीयबासीले दिनभर जसो हत्यारालाई सार्वजनिक गर्नुपर्ने, सुरक्षा व्यवस्था कडा पार्नुपर्ने, दोषीलाई फासी दिनुपर्नेलगायत माग राख्दै स्थानीयबासीले प्रर्दशन गरेका थिए । मृतकको शव पोष्टमार्टम गर्न लैजानसमेत नदिएर प्रर्दशन गरिरहेका स्थानीयसँग मोरङका प्रहरी प्रमुख तथा एसपी जनार्दन बिसी आफै लेटाङ पुगेर छलफल गरेका थिए । 

letang-rape1

दिउँसो तीन बजेपछि स्थानीयसँग समझदारी भएको र शव पोष्टमार्टम गर्न धरान पठाइएको लेटाङ प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए । उनका अनुसार दोषी चाडो पत्ता लगाएर कडा कानुनी कारबाही गर्ने प्रतिवद्धता प्रहरीले जनाएको छ भने सुरक्षा प्रबन्ध पनि कडा गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै, वडा तथा नगरपालिकाले स्कुल बस व्यवस्था गर्ने, छात्रावासको व्यवस्था गर्ने, पीडित परिवारलाई स्वास्थ्य विमालगायतमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । 

प्रहरी निरीक्षक अर्यालका अनुसार मृतक बालिका जाते उच्च माविमा कक्षा ६ मा अध्ययन गर्थिन् । उनी गएको बुधबार विद्यालयबाट फर्किए पनि घर पुगेकी थिइनन् । शव भेटिएको ठाउँ विद्यालयबाट करिब ३ किलोमिटर उत्तरमा पर्छ भने त्यहाँबाट मृतक बालिकाको घर अझै करिब ३ किलोमिटर उत्तरतर्फ पर्ने अर्यालले बताए । 

४ जना पक्राउ तर फिल्टर गर्न बाँकी

letang-rape2

मृत बालिकाको बलात्कार पछि हत्या गरिएको आशंका छ । घटना प्रकृति हेर्दा हतियार प्रयोग भएको देखिएको छैन । अनुसन्धानरत एक प्रहरीका अनुसार प्रारम्भिक घटना प्रकृति हेर्दा बलात्कार गर्न खोजेको जस्तो देखिन्छ । ‘बलात्कार गरेपछि हत्या गरेको हुनसक्छ, प्रकृति हेर्दा त्यस्तै देखिन्छ,’ ती प्रहरी अधिकृतले भने,‘तर पोष्टमार्टम रिपोर्ट पछि मात्र के भएको छ भन्ने प्रष्ट हुन्छ ।’

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ४ जनालाई निन्त्रणमा लिएको छ । यद्यपी घटनामा सबैको संलग्नता छ कि छैन भन्ने प्रष्ट भइसकेको छैन । एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका मध्ये एक जनाको भने संलग्नता निश्चित भइसकेको छ । ‘फिल्टर हुन बाँकी छ, ४ जना पक्कै होइन । १ जनाको चै देखिन्छ, फिल्टर हुने क्रममा छ,’उनले भने ।