धरान: गाउँकै एक युवाबाट बलात्कृत भएकी भोजपुरकी एक १३ बर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छिन् ।

भोजपुरको टेम्के मैयुङ गाउँपालिकाकी बलात्कृत दलित बालिकाले शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छोरी जन्माएकी हुन् । सोमबार डिस्चार्ज भएर उनी जिल्ला फर्किसकेकी छिन् । उनको शल्यक्रियामार्फत डेलिभरी भएको हो । पीडितका बुबाका अनुसार गत असार अन्तिम साता गाउँका ३७ बर्षीय रामचन्द्र राईले छोरीलाई जर्बजस्ती गरेका थिए । त्यसबेला उनी श्रीमतिको उपचार गर्न धरान झरेका थिए । 

घरमा पीडित बालिका र भाईबहिनी मात्र थिए । भैसीलाई घाँस काट्न जंगल गएको मौकामा छोरीलाई जर्बजस्ती भएको पीडितका बुबाले बताए । उनका अनुसार आरोपि राईले डर त्रास देखाएपछि छोरीले कसैलाई घटनाबारे भनेका थिएनन् । गर्भ रहेमा औषधी खुवाएर गर्भपतन गराउने आश्वासन दिएकोले पनि छोरी चुप लागेको उनको भनाई छ । 

माघमा छोरीको स्वास्थ्यमा समस्या आएपछि मात्र उनी गर्भवती भएको खुलेको र बलात्कार घटनाबारे थाह पाएको पीडितका बुबाले बताए । त्यसपछि गाउँमै छलफल गरेर मिलाउने प्रयाससमेत भएको थियो । आरोपिका श्रीमति र बहिनीले अर्कै केटा खोजेर जिम्मा लगाउने प्रस्ताव गरेका थिए । तर आफु नमानेको उनले बताए । छलफलमा वडाका जनप्रतिनिधिहरु पनि थिए । 

आरोपित राईको घर र पीडितको घर करिब १० मिनेटको दुरीमा रहेको छ । छलफलको बेला राई गाउँमा नभएकोले उनलाई बोलाएर ल्याउने कुरा भएको थियो । सोही अनुसार उनी गाउँ आएको बेला प्रहरी पनि पुगेको थाह पाएर राई फरार भएका थिए । मिल्न दबाब भएपनि पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका छन् । उनले भने,‘केटा भागेको भागेकै छ । समातिएको छैन । उसलाई कडा कारबाही होस् । मेरो छोरीको भविष्य नै बिगारिदियो ।’

पीडितका बुबालाई अब छोरीको मात्र होइन, नातिनी पनि कसरी हुर्काउने भन्ने चिन्ता छ । यता, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख एवं डिएसपी राजकुमार राईले नाबालिगलाई बलात्कार गरेको मुद्दा दर्ता भइसकेको बताए । उनले आरोपित फरार रहे पनि घटनालाई गम्भीरतापुर्वक लिएर खोजी कार्य तीब्र पारिएको पनि बताए । पीडित बालिकालाई सामाजिक संघसंस्थाको सहयोगमा उपचारको लागि धरान पठाएको र भोजपुर ल्याएर पनि सेफ हाउसमा राख्ने उनले बताए । 

नेपालको कानुनमा १८ बर्ष भन्दा कम उमेरको बालिकालाई सहमतिमै पनि शारीरिक सम्बन्ध राखेमा जर्बजस्ती करणी हुने उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) मा कसैले जर्बजस्ती करणी गर्न नहुने, कसैले कुनै महिलालाई मञ्जुरी नलिई वा मञ्जुरी लिएर भएपनि १८ बर्ष भन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा त्यस्तो महिला वा बालिकालाई जर्बजस्ती करणी गरेको मानिने उल्लेख छ । सोही ऐनको उफदफा ३ मा १८ बर्षभन्दा कम उमेर भएकालाई करणी भए १० बर्षदेखि १२ बर्षसम्म कैद सजायको व्यवस्था छ ।