धरान: यही फागुन २० र २१ गते मिस्टर धरान खुल्ला नगरस्तरीय शारिरीक सुगठन प्रतियोगिताको २१ औं सँस्करण हुने भएको छ । 

आयोजक एलाइनेट जिमले कफी पब एण्ड रेष्टोमा मंगलबार पत्रकार सम्मेलन गर्दै २ दिने प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न ५ वटा तौल समुहबाट धरानका खेलाडीहरु सहभागी हुने आयोजक संस्थाका अध्यक्ष बिक्रम लिम्बुले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी तौल समुह र ७५ केजी माथिको तौल समुहका खेलाडीहरु सहभागी हुनेछन् । 

प्रतियोगितामा पहिलो दिन प्रि जजिङ हुनेछ । उक्त दिन प्रत्येक तौल समुहमा ६ जना गरेर फाइनलको लागि ३० जना खेलाडीहरु छानिनेछन् । भोलीपल्ट हुने फाइनल स्पर्धामा प्रत्येक तौल समुहबाट पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं खेलाडी छानिनेछ । तौल समुहमा पहिलो हुने खेलाडी मात्र उपाधिको लागि ओभरअल राउण्डमा प्रतिस्पर्धा गर्न पाउने पनि अध्यक्ष लिम्बुले जानकारी दिए ।

ओभरअल राउण्डमा प्रथम हुने खेलाडीले च्याम्पियन ट्रफीसँगै नगद १ लाख रुपैया पाउनेछन् भने मुख्य प्रायोजक फिटनेस च्वाईस इटहरीबाट आकर्षक उपहार पनि पाउनेछन् । आयोजक र प्रयोजकले सरप्राइज गिफ्ट हुने भन्दै उक्त आकर्षक पुरस्कारबारे गोप्य नै राखेको छ । प्रायोजकले ओभरअल राउण्डका खेलाडीहरु सबैलाई आकर्षक पुरस्कार दिने पनि अध्यक्ष लिम्बुले बताए । 

यस्तै, ओभरअल राउण्डमा दोस्रो हुने खेलाडीले मेडल, प्रमाणपत्रसँगै नगद ४० हजार, तेस्रो हुने खेलाडीले नगद ३० हजार पाउनेछन् भने चौथो हुने खेलाडीले नगद २० हजार र पाँचौ हुने खेलाडीले नगद १५ हजार पुरस्कार पाउनेछन् । यसैगरि, व्यक्तिगत विधातर्फ बेष्ट पोजर, मोष्ट इम्प्रुभ र मोष्ट मस्कुलर विजेताले जनही नगद ५ हजार र ट्रफी पुरस्कार पाउने पनि अध्यक्ष लिम्बुले जानकारी दिए । 

दुई दिने प्रतियोगिता धरान ८ स्थित सभागृहमा हुनेछ । कोभिड १९ को कारण करिब २ बर्ष जिम हल प्रभावित भएको र शारिरीक सुगठनका खेलहरु पनि नभएको अवस्थामा यो प्रतियोगिताले खेलाडीहरुलाई उत्साह दिलाउने अपेक्षा लिएको पनि अध्यक्ष लिम्बुले बताए । 

भिडियो: