धरान: धरानमा पहिलो पटक स्नातक (बि.ए.) पास गरेपछि बिए कृष्ण नामले परिचित धरान १ निवासी कृष्णप्रसाद श्रेष्ठ अध्ययनशिल थिए । 

स्वर्गीय श्रेष्ठ राजनीति, साहित्य, इतिहास र संस्कृतिका अध्येता थिए । राजनीति, साहित्यका नयाँ पुस्ताका लागि श्रेष्ठ ‘इनसाइक्लोपेडिया’ थिए । बौद्धिक जगतमा उनलाई बामपन्थी बुद्धिजिवि भनेर चिनिन्थ्यो । अध्ययनशिल श्रेष्ठले पुस्तकहरु संकलन गरेर मिनि पुस्तकालय नै बनाएका थिए । 

बौद्धिक व्यक्तित्व श्रेष्ठ (बिए कृष्ण) को २०७७ मंसिर १४ गते निधन भएको थियो । उनै बिए कृष्णको निजी पुस्तकालयमा रहेको १२ सय ४४ थान पुस्तक स्थानीय सरकार धरान उपमहानगरपालिकालाई प्रदान गरिएको छ । स्वर्गीय श्रेष्ठकी श्रीमति राधिका श्रेष्ठसहित परिवारका सदस्यहरुले शुक्रबार धरानका मेयर तिलक राईलाई उक्त पुस्तकहरु हस्तान्तरण गरेका हुन् । उनीहरुले पुस्तकहरुको नामावली सूची हस्तान्तरण गरेका थिए । 

पुस्तकालय हस्तान्तरण गर्दै छोरा शम्भु श्रेष्ठले जीवनकालमै बुबाले आफ्नो शेषपछि पुस्तकहरु चलिरहेको पुस्तकालयलाई प्रदान गर्ने इच्छा जनाएको जानकारी दिए । बुबाको इच्छा अनुसार पारिवारीक बैठकले पुस्तकहरु धरान उपमहानगरपालिकाले सञ्चालन गर्दै आएका पुस्तकालयका लागि जिम्मा लगाउने निर्णय गरेको उनले बताए । 

हस्तान्तरण गरिएका पुस्तकहरु अंग्रेजी, नेपाली, हिन्दी र नेवारी भाषाका छन् । त्यस मध्ये अंग्रेजी भाषाका ४६८, नेपाली भाषाका ७७६ पुस्तकहरु रहेको छ । उक्त पुस्तकहरु श्रेष्ठले राजनीतिमा सकृय हुँदाको समयमा विदेश भ्रमणका बेला संकलन गरेको परिवारजनले जनाएको छ । पछिल्लो समय विदेश तथा नेपालमा प्रकाशित राजनीति, अर्थ, साहित्य र संस्कृतिका पुस्तकहरु संकलन गरेका थिए ।

krishna-prasad-shresth-

मेयर राईले श्रेष्ठको नीजि पुस्तकालयलाई सार्वजनिक पुस्तकालयमा तस्विरसहित छुट्टै व्यवस्थापन गर्ने बताए । मेयर राईले धरानको इतिहासमा स्वर्गीय श्रेष्ठको जीवन सबै कुरामा गाँसिएको स्मरण गरे । उनले भने, ‘राजनीति, साहित्य, शिक्षा र सामाजिक क्षेत्रका कुनैपनि प्रसंगमा धरानबासीले उहाँको नाम लिने गर्छन् ।’ 

स्वर्गीय श्रेष्ठका भाई एवं शिक्षासेवी चन्द्रप्रसाद श्रेष्ठले धरान नगरपालिकाको कार्यवाहक सभापति रहँदा निःशुल्क प्राथमिक शिक्षाको नीति लागु गरेको स्मरण गराए । त्यही नीतिलाई अनुसरण गरेर नगर पञ्चायतले निःशुल्क प्राथमिक शिक्षाका लागि वडा वडामा पञ्चायत प्राथमिक पाठशाला स्थापना गरेको उनको भनाई थियो । धरानमा वामपन्थीको संगठन गर्ने पहिलो व्यक्ति श्रेष्ठ नै भएको भाई चन्द्रप्रसादको भनाई थियो । उनका अनुसार ४० को दशकसम्म बिए कृष्ण नेपालको कम्युनिष्टहरुका केन्द्रिय राजनीतिमा सकृय थिए । 

स्वर्गिय श्रेष्ठ २०१७ सालमा धरान कानुनी रुपमा नगरपालिका घोषित हुँदा भएको पहिलो स्थानिय चुनावमा वडा कमिस्नर निर्वाचित भएका थिए । त्यस बेला नगरपालिका प्रमुखलाई सभापति भनिन्थ्यो । वडा कमिस्नरहरुबाट निर्वाचित सभापति केदारनाथ खनाल थिए । श्रेष्ठ २०१७ माघ १२ देखी २०१८ फागुन ३ गते सम्म धरान नगरपालिकाको कार्यवाहक सभापति रहेका थिए ।

श्रेष्ठका पुस्तकहरु हस्तान्तरण गर्न श्रीमति राधिकासहित छोराहरु शम्भु श्रेष्ठ, शैलेश श्रेष्ठ, बुहारीहरु छोरीहरु पुष्पा, मञ्जु, अञ्जु श्रेष्ठ उपस्थित थिए । भाईहरु चन्द्रप्रसाद श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ सहित नातेदारहरु पनि सहभागी थिए ।