धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो पार्किङमा मोटरसाइक चोरीको घटना बढ्न थालेको छ । 

पछिल्लो ३ दिनमा २ पटक मोटरसाइकल चोरीको प्रयास भएको छ भने समयमा नै सेक्युरिटी गार्डहरु पुग्दा ३ जना पक्राउ परेका छन् । वीपी प्रतिष्ठानमा मोटरसाइकल चोरीको घटना हिजोआज सामान्य जस्तै भइसकेको छ । तर, चोरहरुको गिरोह पछिल्लो समय गाइनो पार्किङमा सक्रिय रहेको पछि यी घटनाले पुष्टि गर्छ ।

शुक्रबार राती ११ बजेर ४५ मिनेटमा थप २ जना युवाहरु पेडियाट्रिक इर्मजेन्सी र गाइनो पार्किङबाट पक्राउ परेका छन् । पेडियाट्रिक इर्मजेन्सी र गाइनो विभागको पार्किङस्थलबाट २ वटा मोटरसाइकलको पेट्रोल चोरेर अर्को मोटरसाइकलमा हाल्दै गरेका थिए । उनीहरुले डाक्टर पेडियाट्रिक इर्मजेन्सी डिउटीमा रहेका डा.सुजन सिंहको बा ७५ प ७६८७ नम्बरको मोटरसाइकल चोरीको प्रयास गर्दै गरेका थिए । डा.सिहले प्रहरीमा जाहेरी दिइसकेका छन् ।

चोरी प्रयास भएको उक्त मोटरसाइकल पनि ती युवाहरुले आफ्नो नभएको भनेपछि नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको भिआइपी सेक्युरिटीका इञ्चार्ज सनम राईले जानकारी दिए । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका ७ का २५ बर्षीय पुर्ण राई र २३ बर्षीय राकेश राई छन् । सेक्युरिटी इञ्चार्ज राईले भने,‘एउटा बाइकको ह्याण्डल लक गरेको भाँचेको रहेछ । उनीहरुले चढेको बाइक तिमीहरुको हो ? भनेर सोध्दा होइन भन्यो ।’ 

उक्त पार्किङस्थलमा सेक्युरिटीको डिउटी नहुने र अध्यारो पनि हुने भएकोले चोरहरु सक्रिय भएको हुनसक्ने सेक्युरिटी इञ्चार्ज राईको भनाई छ । उक्त पार्किङस्थल एम्बुलेन्स, टेम्पो र टाढाको गाडीहरु पार्किङ गर्ने ठाउँकोरुपमा तोकिएको थियो । ‘तर त्यहाँ मोटरसाइकल लामो समयसम्म पार्किङ गरेर राख्ने भएकोले चोरी हुने रहेछ । त्यो ठाउँमा बाइक पार्किङ नगर्न अनुरोध गरिरहेका छौ,’उनले भने । 

यसअघि चैत २ गते (बुधबार) बिहान २ बजे गाइनो पाकिङमा नै मोटरसाइकलको तार काट्दै गरेका धरान १७ का शुभम राई पक्राउ परेका थिए । उनलाई भिआइपी सेक्युरिटीका गार्डहरुले तार काट्दै गरेको अवस्थामा फेला पारेपछि निवेदनसहित प्रहरीमा बुझाएका थिए । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायमाझीले वीपी प्रतिष्ठानबाट मोटरसाइकल चोरीमा संलग्न भएको ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताए । चोरी मुद्दामा उनीहरुलाई कानुनी कारबाही र अनुसन्धान भइरहेको रायमाझीले बताए । 

bike1'
bike2