विराटनगर: मोरङको लेटाङ नगरपालिकामा आइतबार राती स्थानीयको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएको घटना सम्बन्धमा प्रदेश १ का उच्च सुरक्षा अधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् । 

मोरङको लेटाङ नगरपालिका ५ स्थित शिक्षा बिकाश माविमा भएको उक्त घटनाबारे १ नम्वर प्रदेश प्रहरी प्रमुख तथा डिआइजी अरुण कुमार बि.सी., सशस्त्र बराह बाहिनी पकलीका डिआइजी कमल गिरीसहित जिल्ला सुरक्षा समिति मोरङको टोलीले आज (सोमबार) स्थलगत अनुगमन गरेको हो । उक्त टोलीले अनुगमनसँगै घटनाबारे जानकारीसमेत लिएको थियो । 

उक्त विद्यालयमा अध्ययनरत छात्रालाई फागु पुर्णिमा (होली)को दिन शिक्षकले घरमा नै यौन दुव्र्यवहार गरेको बिषयमा विवाद भएको थियो । विवाद चर्कदै जादा विद्यार्थी र अभिभावकहरु आन्दोलित भएका थिए । प्रहरीले यौन दुव्र्यवहारको आरोपित शिक्षक मनोज पौडेललाई कानुनी कारबाहीको लागि लैजान खोज्दा करिब ५ सयको संख्यामा उपस्थित विद्यार्थी, अभिभावकहरुले लैजान नदिई विद्यालयमा तोडफोड गरेका थिए । विगतमा पनि शिक्षक पौडेलको यौन दुव्र्यवहारको घटना मिलाएर सामसुम बनाएको कारण यसपाली पनि मिलाउने आशंकामा स्थानीय अभिभावकहरुले उनलाई प्रहरीको साथमा जान दिएका थिएनन् । 

प्रहरीले भिड तितरबितर पार्ने क्रममा घाँटीमा हतियार प्रहार गरि घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यो घटना पछि प्रशासनले सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नआएसम्म लेटाङमा कफ्र्यु जारी गरेको थियो । 

dig1

यसैबीच, झडपमा परि ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पार्थिव शरीरमा प्रदेश प्रहरी प्रमुख बि.सी.ले सोमबार पुष्पा गुच्छासहित श्रद्धाञ्जली अर्पण गरे । उनले मृतकको शवमा नेपाल प्रहरी संगठनको झण्डासमेत ओढाएका थिए । प्रहरीको बैण्डसहितको एक टुकडीले शोक सलामीसमेत अर्पण गरेको थियो । 

अस्पतालको शवगृहमा पोष्टमार्टम सकेर शव निकालेपछि श्रेष्ठको पार्थिब शरिर श्रद्धाञ्जलीको लागि राखिएको थियो ।अस्पताल परिसरमै प्रहरी अधिकृत तथा जवानहरुले सलामीसहित श्रद्धाञ्जली दिउका थिए । हातमा खादा र पुष्पगुच्छा बोका सबैको आँखामा आँसु भरिएको थियो ।  मृतकको शव उदयपुरमा लगेर अन्त्येष्टी गरिने प्रहरीले जनाएको छ । मृतक उर्मिलाको गत वैशाखमा मात्र प्रहरी जवान कुमार श्रेष्ठसँग विवाह भएको थियो । प्रहरी जवान कुमार श्रेष्ठको घर उदयपुर हो ।