धरान: धरान ८ स्थित पुर्वाञ्चल क्याम्पसका प्रमुख ओमप्रकाश ढकालले प्राविधिक त्रुटी (सर्भर इरर)को कारण प्रवेश पत्र नपाएका सात विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने प्रतिवद्धता जनाएका छन् ।

परीक्षा केन्द्राध्यक्षसमेत रहेका प्रमुख ढकालले परीक्षा दिनबाट बञ्चित भएका विद्यार्थीहरुलाई आफैले प्रवेश पत्र दिलाउने र बाँकी रहेको परीक्षाहरुमा सहभागी गराउने लिखित प्रतिवद्धता जनाएका थिए । क्याम्पस प्रमुख ढकालले लिखित प्रतिवद्धता जनाएपछि विद्यार्थीहरुले प्रशासनको प्रवेशद्धारमा लगाएको ताला खोलिदिएका थिए । त्यसअघि विद्यार्थीहरुले तालाबन्दी गर्नुका साथै क्याम्पस प्रमुखको कुर्सी जलाइदिएका थिए ।

विद्यार्थीहरुको तालाबन्दीले बिहिबार २ बजेदेखि शुरु हुनुपर्ने स्नातक तह चौथो बर्षको परीक्षासमेत प्रभावित भएको थियो । सहमति पछि विद्यार्थीहरुले ताला खोलेपछि करिब ४० मिनेट पछि २ बजेर ४० मिनेटमा मात्र परीक्षा सुरु भएको थियो । परीक्षा नै रोकिने अवस्था भएपछि आफुले डिन कार्यालयसँग समन्वय गरेर विद्यार्थीहरुसँग लिखित सहमति गरेको प्रमुख ढकालले बताए ।

उनले भने,‘डिन कार्यालयले पनि विद्यार्थीहरु परीक्षा दिन नपाओस् भन्ने पक्षमा छैन, भोली (शुक्रबार) डिन कार्यालयले निर्णय गर्नेछ । मैले ७ जना विद्यार्थीहरुलाई आफैले प्रवेश पत्र दिएर बाँकी परीक्षामा सामेल गराउने लिखित प्रतिवद्धता जनाएको छुँ । त्यसपछि ताला खुलेर परीक्षा भयो ।’