धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इर्मजेन्सी वार्डको स्तरोन्नती गरेको जनाएको छ । 

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार इर्मजेन्सीको स्तरोन्नती गरेर सेवालाई थप सुविधा सम्पन्न बनाइएको छ । उनका अनुसार ईमर्जेन्सीमा आउने विरामीहरुलाई थप सुलभ र प्रभावकारीढंगले उपचार सुविधा उपलब्ध गराउन नयाँ मेडिकल उपकरण तथा बेडहरु वृद्धि गरिएको छ । विरामीहरुको चापलाई मध्यनजर गर्दै २० थान बेड थपिएको छ भने १५ थान ट्रली थप गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।

इमेर्जेन्सी भित्रका आवश्यक स्थानहरुमा १० थान पेसेन्ट मनिटर पनि जडान गरिएको छ । यो मेशिनले अक्सिजन लेभल, इसिजि, मुटुको चाल, श्वासप्रश्वासलगायत मनिटर गर्ने काम गर्छ । यो मेशिनको जडानले विरामीको स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरि विरामीको गुणस्तरिय उपचार गर्न थप सहयोग मिल्ने पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । यस्तै, सिकिस्त विरामीहरुका लागि हाई फ्लो डिभाइस, डेफिब्रिलेटरलगायत उपकरणहरु पनि थप गरिएको छ भने इर्मजेन्सी क्रास कार्ट पनि थप गरिएको छ । 

emergency1'

यसैगरि, सिकिस्त भएपनि भेन्टिलेटरको आवश्यकता नपर्ने विरामीहरुका लागि एचडियु (हाई डिपेडेन्सी युनिट) बेडहरु पनि चाडै जडान गरिने प्रतिष्ठानले जनाएको छ। आवश्यकता अनुसार भविष्यमा बेडको संख्यामा वृद्धि गरिने पनि प्रतिष्ठानले जनाएको छ । इमर्जेन्सी वार्डमा चिकित्सकहरुको कमी हुन नदिन चिकित्सकहरुको लागि विज्ञापन खोलिएको पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिएका छन् ।

इमेर्जेन्सी ल्याबबाट दिईने सेवाहरुलाई अझ बढि दु्रत गतिमा उपलब्ध गराउने व्यवस्था गरिएको प्रतिष्ठानको दाबी छ । इमर्जेन्सीमा आउने विरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण परीक्षणहरु इमर्जेन्सी ल्याबबाट नै गर्न सकिने व्यवस्था पनि गरिएकोले विरामीले परीक्षणका लागि प्रतिष्ठान बाहिर जानु नपर्ने सहप्रवक्ता डा.पोखरेलले बताए । विरामीहरुलाई दबाब दिई वा विभिन्न प्रलोभन देखाई प्रतिष्ठान बाहिर परीक्षण गर्न पठाउने गरको पाईएमा जो सुकैलाई पनि प्रतिष्ठानले कडा भन्दा कडा कार्यवाही गर्ने पनि चेतावनी दिएको छ । 

यस्तै, इमर्जेन्सीका विरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण औषधिहरु पनि त्यहीको फार्मेसीबाट सहजै उपलब्ध हुने व्यवस्था पनि गरिएको प्रतिष्ठानले जनाएको छ भने इमर्जेन्सीमा सरसफाईमा विशेष ध्यान दिई सम्बन्धित कर्मचारीहरुलाई तदारुकताका साथ सरसफाईमा ध्यान निर्देशन दिइएको सहप्रवक्ता डा.पोरखेलले जानकारी दिए ।