धरान: धरानमा भोली मंगलबारदेखि मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता हुने भएको छ । 

धरान उपमहानगरपालिकाको आयोजना, सियोन स्कुलको बिशेष सहयोग, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा हराईजन क्लबको व्यवस्थापनमा मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता हुन लागेको हो । कफी पव एण्ड रेष्ट्रोमा सोमबार पत्रकार सम्मेलन आयोजना गरि बैशाख ६ देखि ११ गतेसम्म धरान १७ स्थित श्री माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा धरानका वडा नं ५, ८, ११, १३, १४, १५, १७, १८ र १९ ले सहभागिता जनाउने व्यवस्थापक वसन्त राईले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार पाउनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार, उदयीमान खेलाडीले नगद ३ हजार पाउनेछन् भने प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार पनि दिइनेछ । 

mayor-cup1

धरान उपमहानगरपालिकाको खेलकुद महाशाखा अधिकृत रमेशकुमार शाहले प्रतियोगिता मेयर कोषको बजेटबाट आयोजना हुन लागेको जानकारी दिए । निर्वाचनको आचारसंहिता जारी भइसकेको बेला मेयर कप आयोजना हुनु राजनीतिक उद्देश्य प्रेरित हो कि ? भन्ने पत्रकारहरुको प्रश्नमा शाहले भने,‘तोक आदेश आचारसंहिता लागु हुनुअघि नै चैत १४ गते  र २५ गते सम्झौता भएको हो । यसमा राजनीतिक स्वार्थले कार्यक्रम गरिएको छैन । बास्केटवल खेल र खेलाडीहरुकै लागि हो ।’ नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले पनि धरानमा बास्केटवलको क्रेज देखेर मेयर कप वडास्तरीय प्रतियोगिताको लागि मेयरले स्वीकृत गरेको बताए ।