धरान: धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान र एभरेष्ट भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । 

आज (मंगलबार) भएको खेलमा लखनपुर र एभरेष्ट सेमिफाइनल प्रवेश गरेसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । यसअघि दुधे भेट्रान र लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरिसकेको छ । मंगलबार पहिलो खेल हाम्रो इटहरी भेट्रानलाई लखनपुरले ४–२ गोल अन्तरले पराजित गरेको थियो । दमक लखनपुरको लागी विकास राई र देउमान लिम्बूले २-२ गोल गरेका थिए । 

इटहरीका निर्मल तामाङले गोल गरे भने अर्काे गोल दमकले आत्माघाती गरेको थियो । खेलको म्यान अफ द म्याच दमकका विकास राई घोषित भए । उनलाई नगद १५ सय सहित मेडल प्रदान गरिएको थियो । 

यस्तै, दोस्रो खेलमा आयोजक हाम्रो धरान भेट्रानलाई पराजित गर्दै एभरेष्ट भेट्रान मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । एभरेष्टले आयोजकलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित खेल गोल रहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा एभरेष्टका नगेन्द्रमणी लिम्बू, सन्तोष बस्नेत, विष्णु सुनार र भेषराज लिम्बूले गोल गरे भने आयोजकका खगेन्द्र खड्काले मात्रै गोल गरे । जनकराज सुनुवार र योगेन राईले गोल गर्न चुक्दा आयोजकल पराजित भएको थियो । खेलको म्यान अफ द म्याच एभरेष्टका विष्णु सुनार घोषित भए । उनलाई नगद १५ सय सहित मेडल प्रदान गरिएको थियो । 

भोली (बुधबार) पहिलो सेमिफाइनल खेल दुधे भेट्रान झापा र एभरेष्ट भेट्रान मोरङ बीच ३ः३० बजे धरान रंगशालामा हुने भएको छ भने बिहीबार दोस्रो सेमिफाइनल दमक लखनपुर भेट्रान र लेटाङ भेट्रान बीच हुने आयोजकले जनाएको छ ।